
पाल्पा । रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका किसान व्यवसायिक रुपमा टिमुर खेतीतर्फ लागेका छन्। उनीहरुले ठूलोचौर कबुलियती सामुदायिक वन समूह गठन गरेर व्यवसायिक टिमुर खेती गरेका हुन्। यसअघि घरायसी प्रयोजनका लागि मात्र टिमुर प्रयोग गर्दै आएका थिए। टिमुरको संरक्षण तथा प्रवद्र्धनमा कसैले चासो दिएका थिएनन्।
पछिल्लो समयमा यसको महत्व थाहा पाएपछि स्थानीयहरु टिमुरका विरुवा संरक्षणमा लागेको ठूलोचौर कबुलियती सामुदायिक वन समूहकी अध्यक्ष दुर्गा पुनले बताइन्। ‘हामीले घरमा खान मात्र यहाँको टिमुर टिप्ने गर्थ्यौं,’ उनले भनिन्, ‘अहिले यसको महत्व बुझेर व्यवसायिक रुपमै खेती गर्ने प्रयास गरिरहेका छौं।’ बनामाराले ढपक्कै ढाकेर मर्न लागको टिमुरका विरुवा समूहका सदस्यले करिब २० दिन लगाएर बनमारासहितको झाडी सफा गरेका छन्। अहिले अधिकांश टिमुरका विरुवा फुल्न थालेका छन्।
ठूलोचौर कबुलियती सामुदायिक वनमा करिब पाँच हजार वटा टिमुरका विरुवा भेटिएका छन्। वनमा आफैं उम्रिएका विरुवालाई आधुनिक प्रविधि अपनाई ‘अपरेशन’ समेत गरिएको छ। जसले गर्दा विरुवा राम्रोसँग हुर्किएका छन्। जथाभावी फडानी गरेर टिप्दा टिमुरले फल राम्रो दिन छाडेको थियो। यस क्षेत्रलाई टिमुर पकेट क्षेत्र बनाउने योजनासहित काम गरिरहेको वन प्राविधिक रामचरण चौधरीले बताए। यस क्षेत्रमा टिमुरको व्यवसायिक खेती सम्भावना रहेकाले वन उपभोक्तालाई खेतीबारे तालिम र औजार प्रदान गरेको चौधरीले बताए।
सरकारले जडीबुटीहरुको अनुसन्धान, विकास तथा खेतीअन्तर्गत टिमुरलाई प्राथमिकताको सुचीमा राखेपछि टिमुर खेतीतर्फ सरोकारवाला निकायले विशेष चासो राख्न थालेको हो।
महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुरका विरुवा यस क्षेत्रमा भेटिएपछि यसलाई पकेट क्षेत्रको रुपमा विकास गर्न अभियानकै रुपमा लागेको जिल्ला वन कार्यालयका प्रमुख दधिलाल कंडेलले बताए। ‘जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको थियो,’ उनले भने, ‘जंगलमै रहेका टिमुरका बोटलाई कटिङ्ग गर्ने, मलजल गर्ने र हेरचाह गर्दा उत्पादनमा समेत वृद्धि हुने गर्दछ।’ उनका अनुसार एक माना टिमुर ६०० देखि ७०० रुपैयाँसम्म बिक्री हुने गर्दछ। टिमुर भदौदेखि कात्तिक महिनासम्म टिप्ने गरिन्छ।