देउखुरी। दाङका विभिन्न खोलामा पाइने खोले साग स्थानीयको राम्रो आम्दानीको स्रोत बनेको छ । खोलामा खेर गइरहेको खोले सागको बजारमा अधिकतम माग बढ्न थालेपछि स्थानीयले खोलाको साग सङ्कलन गरी बिक्री वितरण गर्दै आइरहेका छन् । खोले सागको माग बढ्न थालेपछि अहिले खोले सागको व्यावसायिक रूपमा खेती पनि गर्न थालिएको छ । यसरी बग्ने खोलामा उत्पादन गरिने भएकोले यसलार्ई खोले साग भनिन्छ । कतिपय स्थानमा खोले सागलाई सीम सागले चिन्ने गरिन्छ ।

गर्मी मौसममा खेती गरिने सागबाट नै किसानले मनग्ये आम्दानी पनि गर्ने गरेका छन् । साग रोपेको एक डेढ महिनामै उत्पादन लिन सकिने र एक पटक काटिसकेपछि पनि निरन्तर उत्पादन भइराख्ने हुनाले कृषकलाई पनि राम्रो फाइदा हुने गरेको छ । गर्मी मौसममा अन्य सागको उत्पादन खासै नहुने हुनाले पनि यसको बजार राम्रो भएको किसान बताउँछन् ।

फागुनको अन्तिम सातादेखि यो साग बजारमा आउने गर्दछ । पूर्ण रूपमा अर्गानिक हुने भएकोले बजारमा खोले सागको माग धेरै रहेको कृषक नारायणी पुनले बताउनुभयो । घर छेउकै घोराहीकै सेवार खोलामा उहाँले सागको खेती गर्नुभएको छ । अन्य तरकारी बिक्रीका लागि बजारसम्म धाउनुपर्छ तर खोले साग किन्न ग्राहक खोलामै आउँछन्, पुनले भन्नुभयो । रोगले पनि नसताउने, हेरचाह पनि धेरै गर्नुनपर्ने भएकोले खोले सागको खेती गर्ने गरेको पुनको भनाइ छ । खोले सागबाट मौसममा मासिक १२ देखि १५ हजार रुपियाँसम्मको व्यापार गर्ने पुनले जानकारी दिनुभयो ।

दाङ जिल्लामा रहेका दर्जनौँ खोलामा यसरी नै खोले सागको खेती गरेको देख्न पाइन्छ । खोले सागकै खेतीबाट धेरैले आफ्नो गुजारा गर्दछन् । खोले सागको व्यवसाय गर्दै आउनुभएकी सोही ठाउँकी जयसरी केसी मासिक एक हजार रुपियाँ आम्दानी गर्ने गरेको बताउनुहुन्छ । अन्य खेती गर्न सिँचाइको आवश्यकता पर्ने र खोले साग खोलामा मात्रै उत्पादन हुने हुँदा यस खेतीमा कृषक आकर्षित भएका छन् ।

एक पटक रोपेपछि निरन्तर उत्पादन लिन सकिने भएकोले यसको खेती गर्ने किसान बढ्दैगएको खोले सागको खेती गर्दै आउनुभएका अर्जुन बुढाले बताउनुभयोे । यसवर्ष कटुवा खोला र चमै सोतामा मात्रै करिब ५० जना कृषकले यो साग रोपेका छन्् । दाङबाट यो साग बुटवल, नेपालगञ्ज लगायतका सहरमा समेत बिक्रीका लागि जाने गरेको कृषकको भनाइ छ । दाङको कटुवा खोला, सेवार खोला र अन्य थुप्रै खोलामा यस प्रकारको साग उत्पादन हुन्छ ।