काठमाडौं । सरकारले ६७ अर्ब रुपैयाँ लगानी गरेर १ लाख ७२ हजार हेक्टर जमिनमा सिंचाई पुर्याउने भएको छ ।खेतियोग्य जमिनमा सिंचाई पुर्याउन सरकारले सिक्टा सिंचाइ, रानीजमरा कुलरिया सिंचाइ, बबई सिंचाइ र भेरी बबई डाइभर्सन आयोजनाको निर्माण गरिरहेको छ ।

आगामी ३ वर्षभित्र यी सबै आयोजना सम्पन्न भई थप १ लाख ७२ हजार ७६ हेक्टर क्षेत्रमा सिंचाइ पुग्ने छ । ४ वटै राष्ट्रिय गौरवका सिंचाई आयोजना हुन् ।

बाँके जिल्लामा रहेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी पश्चिमतर्फ ३३ हजार ७६६ र पुर्वतर्फ ९ हजार गरी कुल ४२ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिंचाई उपलब्ध गराउन सिक्टा आयोजना निर्माण भइरहेको छ । यो आयोजना सम्पन्न गर्न २५ अर्ब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजना ०७६र०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हालसम्म आयोजनाको ५६ प्रतिशत काम सकिएको सिंचाई विभागले जनाएको छ ।

यस्तै कैलालीमा सिंचाई सुविधा पुर्याउन कर्णाली नदीको पानी लैजान हाल रानीजमरा कुलरिया सिंचाई आयोजनाको निर्माण धमाधम भइरहेको छ । जमरा सिंचाई प्रणालीमा १४ हजार ३००, लम्किी विस्तारको ६ हजार र पथरैयादेखि कान्द्रा खोलासम्म १८ हजार गरी कुल ३८ हजार ३०० हेक्टर जमिनमा सिंचाई पुग्ने छ ।

आयोजना बनाउन १२ अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म आयोजनाको प्रगति ६८ प्रतिशत छ । आउदो ०७६÷०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यस्तै बर्दियाको ४० हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाई पुर्याउन बबई सिंचाई आयोजना निर्माणधिन छ । बबई नदीको पुर्वतर्फ १९ हजार र पश्चिमतर्फ १५ हजार हेक्टरमा सिंचाई पुर्याउने सरकारको योजना छ ।

आयोजना सम्पन्न गर्न १२ अर्ब ५६ करोड रुपैयाँ लाग्ने छ । हालसम्म आयोजनाको ८१ प्रतिशत प्रगति भएको विभागले जनाएको छ ।
यस्तै भेरी नदीको ४० घनमिटर पानी बबइ नदीमा खसालेर बाँके र बर्दियामा गरी ५१ हजार हेक्टर जमिनमा सिंचाई पुर्याउन सरकारले भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण थालेको छ ।

आयोजनाको लागत १६ अर्ब ४३ करोड रुपैयाँ छ । आयोजना ०७७र०७८ मा सकिने छ । १२ किलोमिटर लामो सुरुङबाट पानी बबईमा खसाल्ने यो आयोजनाबाट ४८ मेगावाट बिजुलीको उत्पादन हुने छ ।यो आयोजनामा पहिलो पटक टनेल बोरिङ प्रविधिबाट सुरुङ खन्ने काम भइरहेको छ । हालसम्म ३ हजार २ सय मिटर सुरुङ खन्ने काम सकिएको छ । हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

सिंचाई विभागका अनुसार हालसम्म १४ लाख ३३ हजार २८७ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । सिंचाइयोग्य जमिन १७ लाख ६६ हजार रहेको विभागले जानकारी दिएको छ ।