फिदिम । अदुवाले राम्रो मूल्य पाउन थालेपछि पूर्वी पहाडि जिल्लाका किसान उत्साहित भएका छन् । अदुवाको मुख्य सिजनमै प्रतिमन ५ सय रुपैयाँले बिक्री गर्न पनि मुस्किल भएको अदुवा अहिले प्रतिमन १ हजार ६ सय रुपैयाँमा बिक्री हुन थालेपछि किसान उत्साहित भएका हुन् ।

अदुवा निकासीमा भारतको अवरोध हट्दै गएपछि किसानले राम्रो मूल्य पाएका हुन् । यसअघि नेपालमा उत्पादित अदुवा भारत निकासी गर्न समस्या हुँदै आएको थियो ।

भाउ नहुँदा किसानको बारीमै र तथा ब्यापारीको गोदाममा अदुवा थन्किएको थियो । तर अहिले राम्रो मूल्यसँगै अदुवा बिक्री भइरहेको छ ।

पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटालगायतका पूर्वी जिल्लामा अदुवाको राम्रो उत्पादन हुने गर्दछ । गत वर्ष पाँचथर जिल्लाबाट मात्रै १४ करोड २७ लाख रुपैयाँको अदुवा जिल्ला बाहिर निर्यात भएको थियो ।