कुनै पनि बिरुवाको जरा माटोभित्र फैलिएको हुन्छ । जराले माटोलाई समाउँछ र जमीनमा खडा हुन्छ । जराद्वारा नै तरकारीका बोटबिरुवाहरुले माटो भित्रबाट विभिन्न पोषकतत्वहरु प्राप्त गर्दछन् । माटोमा भएको चिस्यानमा बिरुवालाई आवश्यक पर्ने विभिन्न खनिज तत्वहरु घुलनशील अवस्थामा रहन्छन् ।
यी तत्वहरु बोटका जराले शोषण गरेर लिन्छन् र बोटका विभिन्न भागहरुमा पुरयाउँछन । त्यसकारण माटोको रसायनिक तथा भौतिक बनोट र माटोमा रहेका पोषक तत्वहरुले बिरुवाको वृद्धि र विकासमा सहयोग पुरयाउँछन । बिरुवा बढ्नुलाई बृद्धि भनिन्छ भने बढ्न छोडेर फुल्न तथा फल्न थाल्नुलाई विकास भनिन्छ ।
माटोका प्रकारहरु :
बलौटे माटो :
बालुवाको मात्रा लगभग ७० प्रतिशत वा त्योभन्दा बढी भएको माटोलाई बलौटे माटो भनिन्छ । धेरैजसो तरकारी बालीहरूका लागि यो माटो राम्रो हुँदैन । बलौटे माटोले पानी अड्याइ राख्न सक्दैन । धेरै पटक सिंचाइ गरिरहनु पर्दछ । यस्तो बलौटे माटोमा पानी पटाउना साथ पानी बगेर जमिनको तल्लो भागमा जान्छ र खनिज तत्वहरू पनि पानीसँगै बगेर जाने हुँदा हामीले दिएको मल बोट बिरुवाले पाउँदैन । तापनि बलौटे माटोमा खरबुजा, तरबुजा, लौका, परवर, फर्सीजस्ता गहिरो जरा जाने लहरे तरकारीहरू खेती गर्न सकिन्छ ।
बलौटे दुमट माटो :
यस्तो माटोमा बालुवाको मात्रा ४० देखि ६० प्रतिशतसम्म हुन्छ । यसमा सिल्ट र मसिनो पांगो माटो पनि मिसिएको हुन्छ । त्यसैले केही समय पानी अड्याएर राख्न सक्छ । यस्तो बलौटे दुमट माटोमा भएका खाद्य तत्वहरू बिरुवाले सजिलैसँग लिन सक्छ । धेरैजसो जरे तरकारीहरू मूला, गाजर, सलगम, प्याज, लसुन आदिका लागि यस्तो माटो राम्रो हुन्छ । यस्तो माटोमा गोडमेल गर्न र झारपात हटाउन पनि सजिलो हुन्छ ।
दुमट माटो :
यस्तो माटोमा २० देखि ४० प्रतिशतसम्म बालुवा हुन्छ । यस्तो माटोमा बालुवा, सिल्ट ९माटोको थेग्रो० मसिनो माटोमा समान रूपमा मिसिएको हुन्छ । यसले धेरै समयसम्म पानी अड्याइ राख्न सक्छ र प्रायः सबै किसिमका खाद्य तत्वहरू बिरुवाले यसबाट पाउँछ । त्यसैले दुमट माटो तरकारी खेतीका लागि ज्यादै उपयुक्त हुन्छ । यो माटोमा खनजोत र गोडमेल गर्न पनि सजिलो हुन्छ ।
चिम्ट्याइलो माटो :
यो माटोमा १० देखि २० प्रतिशतसम्म मात्र बालुवा हुन्छ । बाँकी सबै सिल्ट र मसिनो माटो हुन्छ । यस्तो माटो सुख्खा अवस्थामा धेरै कडा हुन्छ । खनजोत गर्दा ठूल्ठूला डल्लाहरू निस्कन्छन् । पानी कम हुनासाथ चिरा पर्छ । भिजेको अवस्थामा धेरै चिप्लो हुन्छ यस्तो माटोले पानी धेरै समयसम्म अड्याइराख्न सक्छ । खनजोत गर्न अति गाह्रो हुन्छ । तरकारी खेतीका लागि त्यति उपयोगी हुँदैन । प्रशस्त प्राङ्गारिक मल राखेर यस्तो माटोको सुधार गर्न सकिन्छ । चिम्ट्याइलो माटोमा हावाको सञ्चार कम हुने भएकोले बारम्बार गोडमेल गरेर माटो खुकुलो राख्नु पर्छ ।
पांगो माटो :
यस्तो माटोमा बालुवाको मात्रा ज्यादै काम हुन्छ । मसिनो माटो र सिल्ट धेरै हुन्छ । यो माटो सबभन्दा कडा हुन्छ । यस्तो माटोमा धान खेती मात्र राम्रो हुन्छ । अन्य बालीहरू राम्रो हुँदैन । व्यवसायिक रूपमा तरकारी खेती गर्ने किसानले आफ्नो बारीमा कस्तो खालको माटो छ भनेर पहिले नै विचार गरेर तरकारी खेती शुरु गर्नु पर्दछ । वैज्ञानिक तरिकाले माटोको नमुना लिएर प्रयोगशालामा परीक्षण गराएर माटोको स्वास्थको प्रमाणपत्र बनाएर राख्नु पर्छ र समयसमयमा सोही अनुसार मल प्रयोग गर्नुपर्छ ।
लेखक अधिकारी कृषिमा एमएस्सी गरेका छन् । स्रोत : व्यवसायिक तरकारी खेती पाँचपोखरी प्रकाशन गृह