
सिन्धुपाल्चोक। भूकम्पका कारण गोठमा किचिएर हजारौँ गाईभैँसी मरेपछि तहसनहस दुग्ध व्यवसाय झन्डै तीन वर्षपछि सिन्धुपाल्चोक दूधमा आत्मनिर्भर बन्न थालेको छ। भूकम्पका कारण जिल्लाको दूध व्यवसाय भएका क्षेत्रमा मात्रै झन्डै १० हजार गाईभैँसी मरेका थिए। सिन्धुपाल्चोक जिल्लाबाट अहिले दैनिक २० हजार लिटर दूध संकलन गरी राजधानी निर्यात भइरहेको छ।
भूकम्पपछि दूध उत्पादन आधा घटेर १० हजार लिटर दूध मात्र निर्यात भएको थियो। दुग्ध व्यवसाय फस्टाउँदै गएपछि यहाँका किसानले दैनिक १० लाख रुपैयाँ आम्दानी गाउँ भित्र्याइरहेका छन्। डेरीमा दूध बेचेर वार्षिक झन्डै सवा करोड रुपैयाँ भित्र्याउँदै आएका जिल्लाका किसान फेरि त्यो अवस्थामा आइपुगेका छन्।
सिन्धुपाल्चोक दूग्ध उत्पादनका लागि उर्वर भूमि मानिँदै आएको छ। परम्पराबाट केही माथि उठेर उन्नत जातका गाईभैँसी पाल्दै दुग्ध उत्पादनलाई व्यावसायिक बनाउँदै लगेका यहाँका किसानले दूध बिक्री गरेर मनग्य आम्दानी लिँदै आएका छन्। यहाँ झन्डै डेढ सय दुग्ध सहकारी र कृषि फार्ममार्फत् दुग्ध पदार्थ संकलन हुने गरेको छ।
जिल्लामा दूध संकलनका लागि सयभन्दा बढी सहकारी र २० भन्दा बढी कृषि फार्म सक्रिय छन्। किसानले आफ्नो घरमा खाएर तथा स्थानीय बजारमा खपत गरेपछिको बाँकी दूध राजधानी निर्यात हुने गरेको छ। जिल्लामा उत्पादित दूध दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रका काठमाडौं दूध वितरण आयोजना, सुजल र काठमाडौं डेरीले खरिद गर्दै आएका छन्।
गाउँगाउँमा संकलित दूध डिडिसी, सहकारी र निजी क्षेत्रबाट संचालित एक दर्जन चिस्यान केन्द्रमार्फत राजधानी पुग्ने गरेको छ। दूध उत्पादनका लागि उर्वर मानिने नौविसे, बलेफी, खाडीचौर, सुुकुटे, साँगाचोक, सिपाघाट, बाहुनेपाटी र मेलम्चीमा रहेका चिस्यान केन्द्र किसानको दूध राजधानी निर्यात हुने गरेको हो।
निजी क्षेत्रबाट संकलित दूध काठमाडौं दूध आयोजना र मेलम्ची क्षेत्रमा उत्पादित दूध सुजल र राजधानी डेरीमा खपत हुने गरेको छ। डिडिसीले दूधको गुणस्तरका आधारमा दुईवटा मूल्य प्रणाली तोकेको छ। किसानले फ्याट र ल्याक्टोको आधारमा आफ्नो दूधको मूल्य पाउँदै आएका छन्। गुणस्तरका आधारमा डिडिसीले तोकेको मूल्यदरअनुसार किसानले प्रति फ्याट १० देखि १२ रुपैयाँ पाउँछन्। जिल्लाका किसानले भने साढे ११ रुपैयाँसम्म पाउने गरेका छन्।
निजी क्षेत्रका डेरीले डिडिसीकै मापदण्डमा रहेर किसानलाई दूधको भुक्तानी गर्दै आएका छन्। किसानले सरदर प्रति लिटर दूधको ५० देखि ५५ रुपैयाँ मूल्य पाउँदै आएका छन्। मेलम्ची क्षेत्र जिल्लामै दूध उत्पादनका लागि अब्बल र उर्वर मानिन्छ। जिल्लाबाट दैनिक निर्यात हुनेमध्ये साढे १३ हजार लिटर दूध यसै क्षेत्रबाट संकलन हुन्छ। सुक्खा सिजन मानिने चैत–साउनमा दूध उत्पादन घट्छ भने भदौ-फागुनमा उत्पादन दोब्बर हुन पुग्छ।