बाजुरा। दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ ।

गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा अग्रसर भएका छन् ।

गाउँमा नै विभिन्न विकास र निर्माण कार्य सुरु भएपछि विदेशभन्दा गाउँकै विकासका लागि भारतबाट फर्केका अर्का युवा कृष्ण रोकायाले बताए । गौमूल गाउँपालिकामा रहेका युवालाई विकास निर्माणका कार्यले गर्दा फुर्सदसमेत पाउन सकेका छैनन् । यस अगाडिका वर्षमा असोज कात्तिकमा खेतीपाती लगाएर भारतका विभिन्न सहरमा चौकीदारी गर्न जाने युवालाई भ्याइनभ्याई छ ।

गाउँपालिकालगायत विकासे निकायले स्थानीयवासीलाई गाउँमै रोजगारीको अवसर दिएकाले गाउँले यतिबेला विकासका काममा लागिपरेका हुन् । गाउँपालिकाका हरेक बस्तीमा विकास निर्माणका कार्य भइरहेकाले स्थानीयवासीलाई भ्याइनभ्याई भएको गौमूल गाउँपालिका– ३ माझपालिका कृष्ण रोकायाले बताए । स्थानीय तहपछि गाउँमा खानेपानी, बाटो पुलपुलेसालगायत अन्य विकास निर्माणका काममा लाग्नु परेकाले कसैलाई घरमा बस्ने फुर्सद नभएको उनको भनाइ थियो ।

गाउँपालिकाको योजना र अन्य विकासे निकायले गाउँमा धेरै काम दिएकाले भ्याइनभ्याई भएको अर्का स्थानीयवासी धनबहादुर सार्कीले बताए । गाउँपालिकाको पनि धेरै योजना छन्, त्योसँगै अन्य निकायकाले पनि धेरै काम दिएकाले स्थानीयवासीलाई रोजगारी जस्तै बनेको हो । स्थानीय युवा काममा व्यस्त भएकाले गाउँमा जुवा तास खेल्ने मदिरा सेवन गर्नेको सङ्ख्यामा कमी भएको उनले जानकारी दिए ।

गौमूल गाउँपालिका अन्तर्गत ग्रामीण जलस्रोत परियोजनाले मात्र १० ओटा ठूला खानेपानी योजना निर्माण गरिरहेको छ । सो योजनामा पनि काम गर्ने मान्छे पाउन मुस्किल छ । ग्रामीण जलस्रोत परियोजनाले मात्र दह खोला सिँचाइ, बिरा खानेपानी, तल्लाखाली खानेपानी, थलाचौका खानेपानी धल्काडा खानेपानी, रनेडा खानेपानीगायत १० ओटा ठूलो योजना सञ्चालन गरेको निमित्त जिल्ला जलस्रोत सल्लाहकार नरवीर ऐडीले बताए ।

त्योसँगै वडापालिका भवन निर्माण बाटो र पुलमा पनि ठूलो सङ्ख्यामा जनशक्ति परिचालन भइरहेकाले गाउँमा काम गर्न भ्याइनभ्याई नभएको उनले जानकारी दिए ।

रोजगारीको अवसरसँगै गाउँको विकास हुनथालेपछि यो वर्ष भारतमा चौकीदारीको काम गर्न जाने युवा यतै व्यस्त भएको वडा नं १ का वडाअध्यक्ष बलबहादुर रोकायाले बताए । उनले भने, ‘गाउँका युवालाई गाउँमै स्वरोगार बनाउने गरी बजेट विनियोजनका साथै हरेक वडा र बस्तीमा खानेपानी र बाटो लगायतका विकास निर्माणका कामले सुबिधासँगै युवालाई रोजगारीे सिर्जना भइरहेको छ ।’

गौमूल गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाले गाउँपालिकाभित्र शुद्ध खानेपानीलाई सबैकोे पहुँचमा ल्याउन ८३ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम चालूतर्फ र दुई करोड ५८ लाख सात हजार रुपैयाँभन्दा बढी पुँजीगततर्फ रकम विनियोजन गरेको छ ।

योवर्ष मात्र गाउपालिकाभित्रका ३ सय ३९ घरपरिवारलाई शुद्ध खानेपानी व्यवस्थापन गरिने जसमा दुई हजार १ सय ७३ जनसङ्ख्या लाभान्वित हुने जिल्ला खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष तुलसीराम रोकायाले जानकारी दिए ।

ग्रामीण जलस्रोत परियोजनाले गाउँमा खानेपानीको व्यवस्था गर्नुका साथै गाउँमा बेरोजगार युवालाई रोजगार दिएको वडा न ३ का वडा अध्यक्ष धनबहादुर बोहराले बताए । गाउँको जनशक्ति बाहिर नजाने हो भने गाउँको विकास चाडै हुने उनले भने, ‘गौमूल गाउँपालिका जस्तै सबै स्थानीय तहमा विकास निर्माणका कार्य युवाको जिम्मा दिने हो भने जिल्लाको विकासमा अगाडि बढ्ने देखिन्छ ।’