बागलुङ। पर्यटकलाई आकर्षित गर्न बाग्लुङको गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार (हनी हन्टिङ)’ महोत्सव आजबाट शुरु भएको छ ।

निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन समितिको आयोजनामा हुने सो महोत्सवमा निलुवाका मौरी भिरमा रहेका २० भन्दा बढी मौरीका गोलाबाट मह काढिने समितिका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो ।उहाँले परम्परागत प्रविधि अपनाएर मात्र महको शिकार गरिने बताउँदै अनुभवी र दक्ष मह शिकारीले मात्र शिकारमा भाग लिनेछन् ।

“अग्ला भिरपहरामा चढेर मह काढ्नु साहस र कौशलको काम हो”, अध्यक्ष सुवेदीले भन्नुभयो, “यसले पर्यटकलाई पनि लोभ्याउँछ ।”

गलकोटका पहरामा भिर मौरी पाइने भए पनि पहिलो पटक यसरी मह शिकार महोत्सव गर्न लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ ।

महोत्सवले निलुवा क्षेत्रको पर्यटन प्रवद्र्धन हुने आयोजक समितिका सदस्य ईश्वर सुवेदीले बताउनुभयो । “विरलै हुने गरेको मह शिकार गलकोटमा गर्दैछौँ”, उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हाम्रो विश्वास छ ।”

महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापान लगायतका संघसंस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् । हालसम्म रु एक लाख ८० हजार संकलन भएको आयोजकले जनाएको छ ।

महोत्सव अवलोकनका लागि पुग्ने पर्यटकलाई महका साथै स्थानीय परिकार खुवाउने तयारीमा आयोजक छ । पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।