हाँसहरू फुल तथा मासुको लागि पालिन्छन् । नेपालमा प्रायः तराई क्षेत्रमा थारू तथा अन्य समुदायले आफ्नो घरायसी प्रयोजनका लागि थोरबहुत मात्रामा पाले पनि व्यावसायिक रूपमा हाँसपालन गरेको पाइन्न । कतिपय धार्मिक कार्यकालागि हाँस र हाँसको फुल नै चाहिन्छ । हाँस कुखुराको मासुको राम्रो विकल्प हुन सक्छ ।

सरकारीस्तर नेपालका प्रायः सबै मत्स्य विकासफार्महरूमा माछासँगै हाँस पाल्ने गरिन्छ । हाँसहरू जङ्गली तथा पालतु दुवैथरिका हुन्छन् । पालतु हाँसको वैज्ञानिक नाउँ अनास प्लाटाइरीन्कोस हो । नेपालमा हाँसको सङ्ख्या करिब चार लाख भएको अनुमान छ । कुल हाँसमध्ये आधाआधी हाँस अण्डा पार्ने अवस्थाका छन् । हाँसबाट करिब एक करोड तीसलाख अण्डा र २१५ मे.टन मासु वर्षेनी प्राप्त हुने गर्दछ ।

नेपालमा हाँसपालन विकासका लागि सरकारी स्तरमा सर्वप्रथम सन् १९७० सालमा हेटौंडा माछा विकास फार्ममा हँगेरीबाट पेकिङ हाँस आयात गरी हाँसपालनको विकास गरिएको हो । पुनः सन् १९७५ मा बैङ्ककबाट पेचीङ र हङकङ क्रस जातका हाँसको भाले लागेको अण्डा झिकाई हेटौंडामा पाल्न लगाइएको हो ।

हाँस पालनको फाईदा :
हाँसलाई रोगव्याधी कम लाग्छ ।
कुखुरा भन्दा निकै मजबूत हुने भएकोले प्रतिकूल परिस्थितिमा पनि हाँस पाल्न सकिन्छ ।
पानी जम्ने घोल जगा, खोला, नदि, ताल तलैयाको किनारा आदिमा हाँस पालन व्यवसाय सफलतापूर्वक गर्न सकिन्छ ।
यिनीहरूले जे पायो त्यही खाने भएकोले भान्साको उब्रेको वस्तुहरू घाँसपात, शङ्खेकीरा, ढूटो इन्यादि खुवाएर पनि हाँस पालनमा सफलतासाथ गर्न सकिन्छ ।
सस्तो किसिमको घरमा पनि हाँस पाल्न सकिन्छ ।
हाँस र धानखेती सङ्युक्तरूप गर्न सकिन्छ जसबाट प्रति इकाई जग्गाबाट बढी फायदा लिन सकिन्छ ।
त्यस्तै हाँस र माछा पालन सङ्युक्तरूप गर्न सकिन्छ, मस्त्य फार्महरूमा हाँसपालन निकै लोकप्रिय हुँंदै गएको छ । हाँसको सूलीले पोखरीलाई मलिलो पार्दछ ।
इजराइल तथा अस्टे«लियामा हाँसलाई पोखरीविना पनि पाल्ने गरिन्छ ।

हांसको उन्नत जातहरू :

पेकिङः यो हाँसको उत्पत्ति चीनमा भएको हो । अति चाँडो बढ्न सक्ने सेता प्वाँख भएका र पहेँलो छाला यसको विशेषता हो ।

रवाकी क्याम्पवेलः यो युरोपमा अति लोकप्रिय जातको हाँस हो । यसको विकास स्थानीय जातसँग इन्डियन रनरको क्रस गराइ भएको हो । रवाकी क्याम्पवेल हल्याण्डमा विकास गरिएको छ ।

इण्डीयन रनरः यो सेतो रङ्गको भारतेली मूलकोे हाँस हो । यो हाँस घाँटि ढाडो गरी उभिन्छ र हेर्दा राम्रो देखिन्छ ।

हाँस व्यवस्थापनः
हाँसको भाले तथा पोथीहरूको रङ्ग अलग अलग हुन्छ । भालेको आवाज केही धोद्रो हुन्छ तर पोथीको स्वर चर्को तथा तीखो हुन्छ । हाँँस ५ –६ महिनाको उमेरमा वयस्क हुन्छन् । पोथी सवा दूई किलो र भाले ढार्ई किलोको हुन्छ । स्थानीय हाँसले ६०– ७० वटा र विकासे उन्नत हाँसले एक बर्षमा ३०० वटाभन्दा बढी फुल पार्दछन् । फुलहरू २१ देखि २८ दिनसम्म कोरलेर चल्ला काढ्दछन् ।

अण्डा कुखुराको भन्दा केही ठूलो करिब ६८ ग्रामको हन्छ । पोथी हाँसहरूले बिहानीपख ओथारो मै फुल पार्दछन् । हाँस केही दहेखाले पक्षी भएकोले यिनीहरूलाई साधारण खोर तथा दाना आहारा दिएर पनि पाल्न सकिन्छ । तर हाँसलाई खेल्नको लागि प्रशस्त मात्रामा पानीको आवश्यकता पर्दछ । साधारणतया प्रति हाँस ३–४ वर्गमिटर पानीको क्षेत्र उपलब्ध गराउनु पर्छ । प्रजननका लागि पालिने हाँसका लागि प्रति भाले पाँचवटा पोथीका दरले व्यवस्था मिलाउनु पर्छ ।

हाँसहरू प्रायः सबै प्रकारका खानेकुराहरू खाने गर्दछन् । यिनीहरूको प्वांख आए पछि तलाउ, पोखरी, नदि नालाहरूमा घांस, कीरा, माछा तथा शखेंकीराहरू खोजेर खान्छन् । बढदो तथा अण्डा पार्ने पोथी हाँसलाई राम्रो सन्तुलित आहारा खुवाउनु पर्दछ । हाँसको आहारा निम्न अनुसार बनाउन सकिन्छः धान वा गहुँको ढुटो २० भाग, मक ३५ भाग, भटमासको पिना ३० भाग, सिद्रा ५ भाग, चून ढुङ्गा ४ भाग, हरियो घाँसपात खानसके जति करिब ५ भाग, नून शुन्य दहमलव पाँच भाग, माछाको तेल शुन्य दशमलव पाँच भाग। हाँसहरूलाई आहारा पानीमा मिसायर खूवाउनु पर्दछ । हाँसलाई प्रशस्त मात्रामा पानी पिउन दिनु पर्दछ । हाल कुखुरापालन व्यवसाय रोग र अन्य कारणले सङकटग्रस्त हुँदै गएको अवस्थामा व्यावसायिक रूपमा हाँस पालेर राम्रो आम्दानी लिन सकिन्छ ।