
मेन्था तुलसी परिवारमा पर्ने एक प्रकारको झार प्रकारको वनस्पति हो । यसको मुल स्थान भूमध्यसागर क्षेत्र हो । पछि यो युरोप, अमेरिका,
अष्ट्रेलियामा फाष्टायो । यसको उचाई बढीमा एक मिटर सम्म अग्लो हुन्छ । बहुवर्षिया यो विरुवा हाम्रा गाउंघरमा पाईने पुदिनाको बोट जस्तै हुन्छ ।
साधारणतया गर्मी हावापानीमा रुचाउने यो वनस्पति तराई क्षेत्रमा राम्रोसंग सप्रने गर्दछ । विशेष गरि ब्राजिल, अष्ट्रेलिया, दक्षिण अफ्रीका, अर्जेन्टिना, भारत, जापान, चीन आदि देशहरुमा पाईने यो बिरुवा हाम्रो देश नेपालमा पनि पूर्व देखि पश्चिम सम्म तराईको भू–भागमा यसको खेती राम्रो हुने गरेको पाइएको छ ।
यसका साथ साथै भित्री मधेश तथा पहाडका केही भागहरुमा पनि यसको खेती गर्न सकिन्छ । नेपालमा यसको सरकारी स्तरमा अध्ययन अनुसन्धान भई सकेको छ र यसको खेतीको लागि सिफारिस समेत गरि सकिएको छ ।
व्यवसायिक रुपमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, कोटेश्वर मार्फत यसको खेती नेपालका विभिन्न स्थानहरुमा भईरहेको छ । यस्तै नेपाल जडीबुटी व्यवसायी संघ (जवान) ले पनि किसानहरुलाई प्रमोशन गरि खेती गराई रहेको छ । पूर्वमा तरहरा (सुनसरी), तामागढी (बारा), बाँके, बर्दिया, कैलाली, कञ्चनपुर केही भागहरुमा यसको व्यवसायिक खेती शुरु गरिएको छ । ती जिल्लाहरुमा नीजि क्षेत्रमा पनि यसको खेती गर्न आकर्षण दिन प्रति दिन बढ्दो अवस्थामा छ ।
मेन्थाको तेलमा ६०/७० मेन्थोल (Menthol) रासायनिक यौगिक हुन्छ । यसकै कारण तेल सुगन्धित हुने गर्दछ । यो बजारमा बिक्री वितरण हुन्छ । यसको सुगन्धपना (Aroma) कडा, ताजा तथा केही तीतो मिठोपना स्वाद हुने गर्दछ । जापनिज मेन्थामा तेलको मात्रा अत्याधिक मात्रामा पाईने भएको हुनाले व्यवसायिक खेती गर्दा जापनिज मेन्था राम्रो उत्पादन दिने प्रकारको मानिन्छ ।
परिचय:
यो करिब १० देखि ६० से.मी. अग्लो (कुनै–कुनै १ मिटर सम्म) हुने झार वर्गको बहुवर्षिया वनस्पति हो । मेन्था जमिनमुनिको सहतको मुनि सोझो भएर बढछ जसलाई सकर (Sucker) भनिन्छ । यही जराबाट विरुवा उम्रन्छ । विरुवा उम्रे पछि झागिन्छ र फैलिन्छ । यसको डांठ (stem) चारपाटे झुस रहेको जस्तो देखिएता पनि खासमा डांठ नरम र झुस नभएको हुन्छ । किनारमा केही दाती परेका १ देखि २ से.मी. चौडा सतहमा झुस भएको हुन्छ । यसका फूलहरु पातको कापमा काण्डको माथिल्लो भागमा फूल्दछन् । फूलहरु स–साना प्याजी (palepurple) का हुन्छन् । मेन्था करिब २५ प्रजातिका छन् । यसका सयकडौं प्रजाती छन् । जसमध्ये नेपालमा प्रायःखेती गरिने Menta arvensis L. हो ।
मेन्थाका प्रजातीहरु :
Mentha arvensis sub sp. agresis (sole) Briq
Mentha arvensis sub sp. austriaca (jacq) Briq
Mentha arvensis sub sp. lapponica (wahelenb) Nauman
Mentha arvensis sub sp. palustris (Moench) Nauman
Mentha arvensis sub sp. parietarifolia (Becker) Briq
हावापानी र जमिन :
मेन्था खेतीका लागि प्रसस्त मात्रामा प्राङ्गारिक मल मिसिएको बलौट दोमट उपयुक्त हुन्छ । यो विरुवालाई गर्मी हावापानीमा राम्रो हुने भएको हुनाले यसको खेती तराई तथा भित्री मधेशमा उपयुक्त मानिन्छ । यसको खेती समुद्री सतह देखि २००० फिट सम्मको उचाईमा गर्न सकिन्छ । भारतको जम्मु कश्मिरमा यसको खेती ९००० फिट सम्म पनि गर्ने गरिएको पाइन्छ । यसको खेती गर्नका लागि चिस्यान रहि रहने तर पानी नजम्ने खालको माटो आवश्यक पर्ने भएको हुनाले सिंचाईको सुविधायुक्त स्थानमा मात्र यसको खेती गर्नु पर्दछ । साथै पानीको निकास भएको पानी नजम्ने माटो आवश्यक पर्दछ । कडा प्रकारको माटोमा यसको खेती गर्न उपुक्त हुँदैन ।
खेती तथा प्रसारण :
जमिन मुनिको खेती जरा सहित टुसाएर आएको भाग सकरबाट नै यसको खेती प्रसारण गर्ने गरिन्छ । यसको खेती गर्नका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।
जग्गा तयारी :
जमिनलाई गहिरो गरी खनजोत गर्नु पर्दछ । खनजोत गर्दा २५ देखि ३० से.मी. सम्मको गहराई कायम होस भन्ने कुरा ख्याल गर्नु पर्दछ । पटक–पटक गरि डल्ला राम्रो फुट्न सकोस भनि जोत्नु पर्दछ । जमिनमा भएका अनावश्यक झारपात, ठुटा आदिलाई राम्रोसंग सफा गर्नु आवश्यक छ । यदि उक्त जग्गामा रोग किराको प्रकोप बढी छ भने एन्डीन (Endrin) नामक औषधीको धुलो मिलाएर राखेमा यसले सकरलाई हानि नोक्सानी हुनबाट बचाउँछ ।
रोपण :
यसलाई नर्सरीको आवश्यकता पर्दैन् । जमिन मुनी रहेको सेतो जरा र जमिन माथि फैलिने लहराहरुलाई अर्थात सकर नै विरुवा वा बेर्नाको रुपमा प्रयोग गरि रोप्न सकिन्छ । यी विजनहरु पुष÷माघमा निकालिन्छ । यी सकरहरु १ वर्ष देखि २ वर्ष पुरानो रोग नलागेको स्वस्थ्य लहरा वा सकर छनौट गरि निकाल्नु पर्दछ ।
यी जराहरुलाई एक ठाउंमा जम्मा पारी तयारी जग्गामा करिब १० देखि १५ से.मी.को लम्बाईमा काट्नु पर्दछ । काट्दा विचार गर्नु पर्ने कुरा एक टुक्रामा करिब ४–५ वटा आंख्ला वा गाठो हुनु आवश्यक छ । यी सकरहरुलाई तयारी जमिनमा १५ से.मी. को गहराई र १० से.मी. जतिको फराकिलो गरि लाईनमा तान्नु पर्दछ ।
एक लाइन देखि अर्को लाइनको दुरी करिब ४५ देखि ६० से.मी. राख्नु पर्दछ । गहिरो लाईनमा टुक्रा पारेको सकरलाई सुताएर रोप्नु पर्दछ । एक टुक्रा सकिना साथ अर्को टुक्रा रोपी हाल्नु पर्दछ । यसरी रोप्दा सकर एक आपसमा खटिनु हुँदैन् । यसरी रोपी सकेपछि हलुका गरी माटोले पुर्नु पर्दछ । रोपी सकेपछि हलुका संग सिंचाई गर्नु पर्दछ ।
मल प्रयोग :
मेन्था खेतीका लागि कम्पोष्ट मल राम्रो हुने भएता पनि नाइट्रोजन मलको आवश्यकता बढी हुन्छ । नाइट्रोजनको प्रयोगले बाली राम्रोसंग फष्टाउने गर्दछ । यसको राम्रो उत्पादन लिनका लागि प्रति हेक्टर ८० देखि १२० के.जी. नाइट्रोजन, ५० के.जी. फास्फोर र ४० के.जी. पोटास मल राख्नु पर्दछ । जग्गा तयारीको बेला तीन भागको एक भाग प्रति बाली संकलन पश्चात एक एक भाग नाइट्रोजन मल बालीमा राख्नु पर्दछ । तर फास्फोर र पोटास भने जग्गा तयारीको बेलामा एकै पटक राख्नुपर्छ ।
रासायनिक मलको प्रयोग भन्दा जैविक मल, गाईवस्तुको मल वा कम्पोष्ट मलको प्रयोगले उत्पादन र जग्गाको उर्वराशक्ति राम्रो हुन्छ । कम्पोष्ट मलको प्रयोग गरेको खण्डमा नाइट्रोजन मलको प्रयोग आधा परिमाण कम गरे पुग्छ । मल हालेपछि तुरुन्तै सिंचाई गर्न भुल्नु हुँदैन ।
गोडमेल:
विरुवा रोपण गरे पछि गोडमेल अति जरुरी कुरा हो । तसर्थ विरुवा रोपेको वर्षको समयमा बढी झारपात उम्रने हुनाले गोडमेलको आवश्यकता बढी हुन्छ । दोस्रो र तेस्रो वर्ष गोडमेल कम हुँदै जान्छ । विरुवा फैलिएर बाक्लो भएपछि झारपात कम आउंछ । गोडमेल गरि सकेपछि प्रत्येक पटक नाइट्रोजन मलले टप ड्रेसिङ्ग गर्नु पर्दछ र सिंचाई गरि दिनु पर्दछ । तर जैविक खेती गर्ने हो भने रासायनिक मल प्रयोग गर्नु हुँदैन ।
सिंचाई :
मेन्था खेतीका लागि सिंचाई अति जरुरी छ । किन भने मेन्था अत्याधिक मात्रामा पानी चाहिने वनस्पति हो । तर यसमा पानीको निकास हुनु पर्दछ जम्ने हुनुहुदैन् । जमिनमा चिस्यान सधैं कायम रहि रहेमा विरुवाको वृद्धि विकास राम्रो हुन्छ ।
विरुवा चांडै बढ्ने हुनाले पानी बाफिएर जाने क्रम धेरै हुन्छ । तसर्थ सुख्खा समय (चैत्र–वैशाख) मा प्रत्येक २ हप्तामा १ पटक पूर्ण रुपमा सिंचाई गर्नु पर्दछ । वर्षाको समयमा सिंचाईको आवश्यकता नहुन सक्छ हिउंदको समयमा एक दुई पटक सिंचाई गरि दिनाले जरा र लहराको वृद्धि विकासमा सहयोग पु¥याउंछ । विरुवा सारे पछि र बाली काटी सकेपछि प्रसस्त मात्रामा सिंचाई गर्नु पर्दछ । यसले गर्दा फेरी विरुवा धेरै बलिया र राम्रा हुने गर्दछन् । यसका साथै जमिन मुनि रहने सकरहरु पनि धेरै मात्रामा फैलिने र सप्रिने गर्दछ ।
बाली संकलन तथा प्रशोधन :
बिरुवा लगाएको चार महिनामा प्रथम पटक बाली संकलन गर्न सकिन्छ । मेन्था बाली संकलन भनेको पुरै बिरुवा अर्थात डांठ पात समेतलाई काटेर संकलन गर्नु हो । यसबाट तेल निकाल्ने भएको हुनाले यसको बाली संकलन गर्नका लागि धेरै कुराहरुमा ध्यान पु¥याउनु पर्दछ । बिरुवाहरु जेष्ठ महिनामा फूल राम्ररी फूल्न थाले पछि र बोटको तल्लो भागमा एक दुई पातहरु पहेंलो हुँदा बाली काटेर संकलन गर्नु पर्दछ । बाली लिने यो उत्तम समय हो ।
बाली संकलन गर्दा घाम लागेको बेला ३–४ अंगुल बोट छोडेर काट्नु पर्दछ । यसरी जेष्ठ÷असारमा प्रथम पटक र त्यसपछि मलजल र गोडमेल गरेर पुनः असोज÷कार्तिक तिर दोस्रो पटक बाली संकलन गरिन्छ । यसरी वर्षको दुई पटक बाली संकलन गर्न सकिन्छ ।
ताजा काटिएको मेन्थालाई डिस्टिलेशन प्लान्टमा लगि प्रशोधन गरि तेल निकालिन्छ । यदि नजिकमा प्रशोधन प्लान्ट छैन भने काटिएका बालीलाई स–साना मुठा पारी छांयामा वा सेड हाउसमा सुकाउनु पर्दछ । यदि राम्रो तरिकाले छांयामा सुकाएको खण्डमा तेलको मात्रा पनि नघट्ने तेलको गुणस्तर पनि राम्रो हुन्छ । तर सुकाउने बेला पात धुलो पर्ने गरि सुकाउनु हुँदैन् ।
बाली संकलन गरि सकेपछि जति सक्दो छिटो डिस्टिलेसनमा लगेर तेल निकाल्नुनै उत्तम हुन्छ । मेन्था बहुवर्षिया बाली हो । यसको खेती पहिलो वर्षमा भन्दा दोस्रो र तेस्रो वर्ष अझ राम्रो उत्पादन दिने हुन्छ । तेस्रो वर्ष पछि यसको उत्पादन न्यून हुँदै जाने भएकोले मेन्था रोपे जग्गा खाली गरि अन्य प्लटमा नयाँ बिरुवा रोपण गर्नु राम्रो हुन्छ ।
मेन्था बाली राम्रो संग खेती, संकलन र प्रशोधन गरेमा एक हेक्टर जग्गामा ८०–१०० कि.ग्रा. सम्म तेल उत्पादन गर्न सकिन्छ । उत्पादित मेन्था तेललाई स्टेनलेस स्टिल वा शिशाको भांडामा राम्रो संग बन्द गरेर राख्नु पर्दछ । तेल भांडामा राख्दा टन्न न भरि ९० प्रतिशत जति तेल राखि प्याकिङ्ग गर्नु पर्दछ ।
मेन्था खेतीमा पनि अन्य बालीमा जस्तै रोग लाग्ने सम्भावना रहन्छ । यसमा लाग्ने रोगहरु यस प्रकारका छन् ।
धुले रोग (Powdery Mildew)
खैरे रोग (Mint Rust)
जरा कुहिने रोग (Stolon Root)
यी रोगका साथ साथै किरा फट्याङग्राहरुले पनि असर गर्न सक्छ ।
पात बढार्ने रोग (Mint Leaf Roller)
फौजी किरा (Army-worm pyaralid)
झुसिल किरा (Hairy Caterpilar) आदि
उपयोगिता:
मेन्था तेल विभिन्न बाफको लागि प्रयोग गरिन्छ ।विभिन्न औषधीहरु बनाउन प्रयोग गरिन्छ । मालिस गर्नका लागि, दुख्दा लगाउने मलम,
खोकीको सिरफ, ट्यावलेट, मुख गन्हाउनेको लागि औषधी, भिक्स, नस inhaler, दन्तमञ्जन लगायतका औषधी बनाउनका साथ साथै
पेय पदार्थहरुमा सुर्ती, चुरोट, पानमसला र सौन्दर्यका साधन जस्तै लिपिष्टिक, फेस क्रिम, फेस लोसन, सेभिङ्ग क्रिममा सुगन्धका लागि
प्रयोग गरिन्छ । खाद्य वस्तुहरु चुइगम, मिठाई, जाममा सुगन्ध गर्नका लागि प्रयोग गरिन्छ । यस प्रकार मेन्थालाई धेरै प्रकारबाट प्रयोग
गरिएको हुन्छ ।
बजार :
मेन्थाको बजार दिन प्रति दिन बढ्दो अवस्थामा रहेको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा यसको माग बढ्दो अवस्थामा छ । हाल नेपालमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले तथा अन्य निजी व्यवसायीहरुले मेन्थोल किन्ने गरेका छन् । हाल यसको बजार मुल्य रु.१३५० देखि रु.१८०० प्रति किलोग्राम पर्दछ ।
नोट : यो सामग्री हामिले जडिबुटीको परिचय चिउरी तथा खेती प्रविधि भन्ने पुुस्तक बाट लिएका हौं ।
थप जानकारी चाहियमा कमेन्ट गरी पठाउनुहोला बिज्ञसंग सुझाभ लिई प्रकाशित गर्ने छौं ।