काठमाडौं । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबावु राउतले उक्त प्रदेशलाई हरित गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्यमन्त्री राउतले आफ्नो सरकारको सय दिने बिशेष कार्यक्रम सार्वजनिक गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।

प्रदेश नम्बर दुईलाई कृषिमा आत्मनिर्भर बनाउन अन्न उत्पादन, तरकारी खेती, माछा पालन, फलफूलखेतीलाई प्रोत्साहन गरी हरित प्रदेशको रुपमा विकाश गरिने मुख्यमन्त्री राउतले जानकारी दिए । मुख्यमन्त्री राउतले कृषि भण्डारण गर्नका लागि किसानलाई पायक पर्ने स्थानमा चिस्यान घर(कोल्ड स्टोर) निर्माण गरी साना सिंचाई तथा टयुववेल सिंचाई आयोजनामार्फत सिंचाईतर्फ बिशेष जोड दिइने बताए ।

दुई नम्बर प्रदेशलाई माछा उत्पादनमा विशिष्टिकरण गरी आर्गेनिक माछाको जोनको रुपमा विकास गरी परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नका लागि उपकरणहरु सहुलियत दरमा उपलब्ध गराइने मुख्यमन्त्री राउतले जानकारी दिए ।

भुमी उपयोगिताको लागि चकलाबन्दी (प्लटिङ) गरी सामूहिक तथा सहकारी खेती गर्ने परम्पराको विकास गरिने, किसानहरुलाई प्राङ्गारिक मल प्रयोग गर्न प्रोत्साहित गरिने, डेरी उद्योग, टमाटर क्याचेप, तरकारी प्रशोधन, जुस प्रशोधनजस्ता साना उद्योगहरु स्थापना गरिने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । सामूहिक गाईपालन तथा भैंसी पालनको लागि प्रोत्साहित गरिने, सहज तरिकाले न्युन ब्याज दरमा ऋण उपलब्ध गराउनका साथै वीमा समेतको व्यवस्था गरिनेछ ।