
दुधौली। दुई वर्ष अघिसम्म आफूले उत्पादन गरेको तोरी बेचेर घर खर्च जुटाउँदै आउनुभएका दुधौली नगरपालिका–२ निवासी कृषक रामहरि बराल अहिले भुटुनका रूपमा प्रयोग गर्ने तेल किन्नु हुन्छ ।
आफ्नो भएको चार कट्ठा जमिन कमला नदीले बगाएपछि तोरी खेती गर्ने जमिनको अभावमा उल्टै किनेर उपभोग गर्नु परेको उहाँको गुनासो छ । कृषकक बरालले भन्नुभयो, नत्र आफ्नै जमिनमा उत्पादन गरेको तोरीको तेलले गुजरा चल्दै आएको थियो । बर्सेनि ३५-४० हजार रुपियाँको तोरी पनि बिक्री गर्दथेँ । एक वर्षअघि कमला नदीले खेत बगाएपछि यो समस्या बेहोर्नु परेको हो । उता दुधौली नगरपालिका–९ निवासी कृषक रामप्रसाद दनुवारलाई अहिले कमलाखुँजको फाँटमा अरूको लहलह तोरी झुलेको देख्दा मन भित्रैबाट ईष्र्या जागेर आउँछ ।
कुनै दिन आफ्नो खेतमा यसैगरी तोरी फुलेको उहाँ झलझली सम्झनुहुन्छ । आफ्नो भएको दुई बिघा खेत २०५० सालमा आएको बाढीले सबै बगाई सुकुम्बासी बनाएपछि अहिले कमलाखुँज क्षेत्रमा अर्काको खेतमा लहलह झुलेको तोरी बाली हेरेरे बस्नु परेको उहाँको गुनासो छ ।
कृषक रामप्रसादले अहिले नदी कटानबाट जोगिएको अर्काको खेतमा बनीबुँतो गरी १२ जनाको परिवारको जीवन निर्वाह गर्दै आउनुभएको छ । आफ्नो भएको सबै दुई बिघा खेत अहिले बगरमा परिणत बनेको छ, उहाँले भन्नुभयो ।
स्थानीय कृषकहरूका अनुसार कमलाखुँज क्षेत्रमा कमला नदीको बाढीले बर्सेनि उर्वरभूमि कटान गरेपछि सयौं भूमिपति कृषक अहिले सुकुम्बासी बनेका र तोरी उत्पादन पनि घट्दै जान थालेको छ । नदीको कटानबाट बर्सेनि दुधौली नगरपालिकाको वडा नं। १ देखि १० सम्मका कृषकहरू पीडित बन्दै आएका स्थानीय कृषकहरूको गुनासो पाइन्छ ।
दुधौली नगरपालिका वडा नं। १ का सचिव हेरम्बराज अधिकारी कमला नदी कटानको समस्या बढ्दो रूपमा देखा परेको दुई दशकभन्दा बढी भए पनि त्यसलाई नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन नसक्दा तोरी खेतीसहित अन्य खाद्यान्न बाली उत्पादन प्रभावित बनेको बताउनुभयो ।
उहाँका अनुसार कमला नदीले गाउँमा रहेका झण्डै दुई सय परिवारको चार सय बिघाजति खेत बगाएर सुकुम्बासी बनाएपछि उनीहरूको अवस्था दयनीय बनेको छ । तोरी खेतीका लागि लोकप्रिय रहेको कमलाखुँज क्षेत्रका उर्बर खेत सबै कमला नदीको बाढीले बगाएपछि तोरी उत्पादन पनि बर्सेनि घट्दो अवस्थामा छ ।
दुधौली नगरपालिका ६ का कृषक दुर्गाबहादुर घिसिङले गत वर्ष कमला नदीमा आएको बाढीले आफ्नो सात कट्ठा खेत बगाएपछि यो वर्षदेखि तोरी खेती गर्ने जग्गा अभाव भएको बताउनुभयो । कमला नदीको कटानलाई नियन्त्रण गरी उर्बर जमिनलाई नबचाउने हो भने कमलाखुँज क्षेत्रमा हुने तोरी खेती कुनै बेला कल्पनामा नै सीमित हुन बेर नलाग्ने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, झन्डै १० वर्ष पहिलेसम्म कमलाखुँज क्षेत्रबाट ठूलो परिमाणमा तोरी बाहिर निकासी हुन्थ्यो । अहिले त्यो क्रम रोकिएर उपभोगका लागि पनि बाहिरबाट ल्याइने पाकेटको तेल पसलमा खरिद गर्नुपर्ने बाध्यता बनेको छ ।
सिन्धुली जिल्लाभरिमा यो वर्ष करिब पाँच हजार हेक्टर जमिनमा तोरी खेती भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।