सुख्खा मौसममा हरियो घाँसपातको कमि हुने हुँदा गाईभैँसीलाई पौष्टिक तत्वहरू अपुग हुन्छ र उनीहरूले धेरै दूध दिन सक्दैनन् । यस्तो अवस्थामा गाईभैँसी लगायत उग्राउने पशुहरूको उत्पादन बढाउनको लागि पशुहरूलाई यूरिया–मोलासेस ढिका खुवाउन सकिन्छ ।

किन खुवाउने यूरिया–मोलासेस ढिका ?
सुख्खा मौसममा पौष्टिक तत्वहरूको श्रोतको रुपमा काम गर्छ । पशुहरूलाई चाहिने खनिज पदार्थहरूको आवश्यकता पुरा गर्छ । दूधालु पशुहरूको दूध उत्पादन बढाउँछ । हुर्कंदो पशुहरूको शारीरिक वृद्धि बढाउँछ ।

बनाउने सामग्री र मात्रा :
यूरिया–मोलासेस–खनिज ढिका बनाउन बिभिन्न ठाउँमा बिभिन्न सामग्री प्रयोग गरेको पाईन्छ । तर यहाँ एफएओले सिफारिस गरे अनुसारको ढिका बनाउन प्रयोग गरीने सामग्री र तिनको मात्रा दिईएको छ ।

सामग्री र मात्रा 
मोलासेस ४५ भाग
युरिया १० भाग
चोकर ३० भाग
सिमेन्टरचुन १० भाग

यूरिया–मोलासेस ढिका कसरी बनाउने ?
आवश्यक सामग्रीहरू ठीक मात्रामा जोख्ने ।
सबैभन्दा पहिले युरियालाई विस्तारै मोलासेसमा घोल्ने ।
युरिया र मोलासेसको मिश्रण तयार भएपछि त्यसमा चोकर मिसाउने ।
त्यसपछि चाहिने जति पानीमा नून र चुन वा सिमेन्ट घोलेरे त्यसलाई पहिलेको मिश्रणमा राम्रोसँग मिसाउने । थोरै मात्रामा ढिका बनाउनको लागि बाल्टीन, बाटामा मिश्रण तयार गर्न सकिन्छ भने धेरै मात्रामा बनाउनको लागि सिमेन्ट गरिएको भुईंमा बेल्चा प्रयोग गरेर वा प्लाष्टिक ओछ्याएर पनि मिश्रण बनाउन सकिन्छ ।

मिश्रण तयार भइसकेपछि त्यसलाई आकार दिनको लागि काठ वा फलामको वर्गाकार वा ईंटा आकारको साँचोमा राख्ने । साँचोको आकार आवश्यकता अनुसार सानोरठुलो बनाउन सकिन्छ ।

ढिकालाई खँदिलो बनाउन साँचोमा मिश्रण राखेपछि माथिबाट साँचोको आकारको काठको टुक्रा राख्ने र त्यसमाथि २० देखि ३० सेकेण्ड उभिने । आकारमा आइसकेको ढिकालाई ३ देखि ८ घण्टासम्म त्यत्तिकै छोडेर केही कडा भएपछि भण्डारण गर्ने । घाम र पानी नपर्ने सुख्खा कोठामा ढिका भण्डारण गर्नुपर्छ । ढिकामा पशुलाई खुवाउन उपयुक्त हुने कडापन आउन मौसम हेरी १ देखि २ दिन लाग्छ ।

यूरिया–मोलासेस ढिका कसरी खुवाउने ?
तयार भएको ढिकालाई गाईभैँसीले चाट्न मिल्ने तर टोक्न नमिल्ने गरी गोठको उपयुक्त ठाउँमा राख्नु पर्छ । छायाँ पर्ने ठाउँ करिब १ मिटर वा ३ फिटको उँचो ठाउँमा ब्लक राखिदिने व्यवस्था मिलाउनुपर्छ । यसको लागि ढिकालाई डोरीमा बाँधेर गाईभैँसीले भेट्ने गरी झुण्ड्याउन सकिन्छ वा ढिकाको आकारभन्दा थोरै मात्र ठुलो भाँडोमा राखेर गोठको भुईंमा राखेर पनि दिन सकिन्छ । तर ढिकालाई पानीबाट भने बचाउनु पर्दछ । यस्तो ढिका खुवाउँदा पशुलाई प्रशस्त मात्रामा पानी दिनु पर्दछ ।
५ केजीको ढिका एउटा ३५० देखि ४०० केजीको गाईभैँसीलाई ७ देखि १० दिनसम्म पुग्छ ।
गाईभैँसी र उग्राउने पशु बाहेक अरु पशुलाई यस्तो ढिका खुवाउनु हुँदैन । यसरी बाख्राहरुलाई केही छिन ब्लक चाट्न ‑खान दिनुपर्छ, तर एकपटकमा वा १ दिनमा १५० ग्राम भन्दा बढी खान दिनुहुँदैन ।
द्रष्टव्यः एउटा हुर्केको बाख्रालाई दिनको १५० ग्रामभन्दा बढी ब्लक खान दिइयो भने त्यसले नराम्रो (intoxicate) गर्न पनि सक्छ ।

थप जानकारी चाहियमा कमेन्ट बक्समा गयर लेख्नुहोस आवश्यक जानकारी दिने छौं ।