
देउखुरी । लमही–गढवा सडक खण्डमा पर्ने राप्ती नदीको पुललाई आधार मानेर उत्तर र दक्षिण क्षेत्रमा बृहत् तटबन्धका लागि ठेक्का स्वीकृत भएको छ । जनताको तटबन्ध कार्यालय लमहीले पुलदेखि तल्लो क्षेत्रबाट दुई किनार हुँदै बगेको राप्ती नदीलाई एकै ठाउँबाट बगाउने गरी बृहत् तटबन्धको योजना गरेको छ ।
स्थानीय जग्गा धनीबीच सहमति गरेर नदीको बीच भागबाट राप्तीको पानी बगाउने गरी तटबन्धको योजना अघि बढ्ने जनताको तटबन्ध कार्यालयका इन्जिनियर मिलन पौडेलले जानकारी दिनुभयो । ‘राप्ती नदीको पुलदेखि तल बलरामपुर क्षेत्रमा दुई किलोमिटर र कान्छी गाउँतर्फ डेढ किलोमिटर दुवैतर्फ तटबन्धको योजना छ । साथै, पुलदेखि माथिल्लो तकियापुर क्षेत्रमा दुई किलोमिटर तटबन्धको योजना रहेको र केही दिनभित्रबाटै काम सुरु गर्ने गरी निर्माण कम्पनीहरूले तयारी थालेको उहाँले जानकारी दिनुभयो ।
पुलदेखि दक्षिण क्षेत्रको दुवै किनारामा तटबन्ध गर्न २८ करोड २९ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ । यस्तै पुलदेखि माथि १२ करोड रुपियाँमा निर्माण कम्पनीसँग सम्झौता भएको कार्यालयले जनाएको छ ।
दाङको लमही–गढवा सडक खण्डमा बनेको राप्ती पुलको दक्षिणी क्षेत्रबाट दुई किनार भएर राप्ती बगेको छ । यसरी नदीले बहाव परिवर्तन गर्दा धेरै खेतीयोग्य जमिन बगर बनेको छ । २०१८ साल र त्यसपछि आएको बाढीले ठूला–ठूला बस्ती बगायो । त्यसपछि थुपारेको ढुङ्गा, गिट्टी, बालुवा र माटोले टापुु बनाएर नदी दुई किनारबाट बगेको थियो ।
वलरामपुरको २४० बिघा जमिनको मौजा हो तर यसको ३० मात्रै बचेको छ । बगरमा परिणत भएको जग्गाको मालपोत किसानले तिरिरहेका छन् । गढवा गाउँपालिका–७ मोतीपुरका बद्री चौधरीको डेढ बिघा जमिन बगरमा छ । जग्गाको मालिक भए पनि अरूको जग्गा जोतेर खर्च जुटाउनुपर्ने बाध्यता छ ।
५०-६० वर्षअघि दाङ खण्डमा राप्ती नदीको सतह गहिरो थियो । पहाडी क्षेत्रमा भू–क्षय भएपछि बगेर आएको माटो, बालुवा र पात, पतिङ्गरका कारण नदीको सतह भरिँदै गयो । नदीको सतह माथि आएपछि वर्षामा नदी फैलिन पुगेको हो । बलरामपुरका नारायण योगीले भन्नुभयो, ५०-६० वर्षअघि गहिरो थियो राप्ती तर अहिले राप्तीको सतह माथि उठेका कारण डुबान र कटान बढेको छ । अब तटबन्ध गर्दा नदीको भाग खोलेर एकै ठाउँबाट पानी बगाउनु पर्छ ।