
लमजुङ। कुखुराको मासु र अन्डामा आत्मनिर्भर बनेको लमजुङ अबदेखि माछामा समेत आत्मनिर्भर हुने भएको छ । पछिल्लो समय ५ युवाले संयुक्त रूपमा २ सय १० रोपनी क्षेत्रफलमा माछापालन व्यवसाय सुरु गरेसँगै जिल्ला माछाको मासुमा आत्मनिर्भर हुने भएको हो ।
७० लाखका माछापालन :
राईनास–५ कैनीटारमा सुरु गरिएको पौडेल एग्रो फार्ममा हाल ७० लाख माछा पालिएको छ । वार्षिक ५ टन उत्पादन गर्ने लक्ष्यका साथ सुरु गरिएको यस फार्मलाई थप दुई हेक्टर क्षेत्रमा विस्तार गर्ने योजना बनाइएको छ ।
कैनीटारमा नवराज पौडेल, लक्ष्मी पौडेल र हरेराम पौडेलले यस ‘पौडेल एग्रो फार्म’ सञ्चालनमा ल्याएका हुन् । परम्परागत रूपमा हुँदै आएको धानखेती मासेर यहाँको २ सय ३५ रोपनी क्षेत्रफलमा ‘कम्पाउन्डिङ’ गरी माछा, केरा खेती र तरकारी खेती सुरु गरिएको हो ।
‘लमजुङलाई नै माछामा आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ,’ सञ्चालक पौडेल भन्छन्, ‘आगामी तीन वर्षमा वार्षिक ५० टन माछा उत्पादन गरी लमजुङसहित छिमेकी गोरखा र तनहुँमा समेत मागअनुसार माछा पु(याउने उद्देश्य छ ।’
सात टन माछा उत्पादन :
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा वार्षिक ४ टन माछाको माग छ । पौडेल माछा फार्म सञ्चालनमा आएसँगै जिल्लाको कुल माछा उत्पादन क्षमता ७ टन हुनेछ । हालसम्म जिल्लामा वार्षिक ३ टन माछा उत्पादन हुँदै आएकोमा पौडेल कृषि फार्मबाट थप ४ टन माछा उत्पादन भएपछि जिल्ला माछामा आत्मनिर्भर भएको हो ।
पौडेल एग्रो फार्ममा माछासँगै ६० रोपनी क्षेत्रफलमा केरा खेती, ४० रोपनी क्षेत्रफलमा तरकारी खेती सञ्चालनमा ल्याइएको छ । ०६९ मा जग्गा खरिद गरेर चरणबद्ध रूपमा काम भइरहेको यो फार्ममा पटक–पटकको लगानी गरी ५ करोडभन्दा बढी रकम लगानी भइसकेको छ ।