
लौकाट अफ्रिकी मूलको चरा हो । नेपालमा लौकाटपालनले व्यावसायिक रूप लिन सकेको छैन । केही भारतीय व्यापारीहरूले दसैँ तिहारताका मासुको माग बढेको समयमा काठमाडौमा लौकाट बिक्री वितरण गर्दछन् । लौकाट मासु र अन्डाको लागि पालन गरिन्छ । लौकाटको वैज्ञानिक नाउँ Numida meleagris हो । लौकाटको मासु केही मुलायम र गाढा रङको हुन्छ । लौकाटको मासुमा विशेष सुगन्ध तथा स्वाद पाइने भएकोले मानिसहरू कुखुराभन्दा पनि बढी रुचाउने गर्दछन् ।
लौकाट पालनबाट फायदाः
कुखुरा भन्दा निकै मजबुत हुने भएकोले प्रतिकूल परिस्थितिमा र विभिन्न जलवायुमा पनि लौकाट पाल्न सकिन्छ ।
यिनीहरूले जे पायो त्यही खाने र आफ्नो आहारा आफै खोजेर खाने भएकोले गाउँघरमा सजिलै पालन सकिन्छ ।
यिनीहरूलाई रोगब्याधि कम लाग्छ ।
यिनीहरू समूहमा बस्ने भएको र कुखुरासँग मिसिन सक्ने भएकोले सजिलै सँग पाल्न सकिन्छ ।
एउटा पोथीले एक वर्षमा ६०–१०० वटासम्म फुल पार्दछ । अन्डा केही सानो, केही खैरो वा निलो रङ्गको हुन्छ । एउटा फुल करिब ४० ग्राम तौलको हुन्छ । फुल प्रायः चैत देखि असोज सम्म पार्ने गर्दछ ।
उन्नत तरिकाले लौकाट पालन गरेमा यिनीहरू ३–४ महिनाको उमेरमा डेढ किलोसम्मका हुन्छन् । लौकाटलाई कुखुरा जस्तो रोग लाग्दैन । व्यावसायिक रूपमा लौकाटपालन गर्दा २–३ वर्षसम्म पाल्नु पर्दछ ।
पुनश्चःयस सम्बन्धी कुनै जिज्ञासा भए कमेन्ट गर्नुहोला थप जानकारीका लागि