चल्लाको स्वास्थ्य धेरै हदसम्म खोरको सर-सफाई र स्वच्छतामा निर्भर हुन्छ । ह्याचरीबाट भर्खरै मात्र खोरमा ल्याईएको चल्लाको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ ।

यस्तो अवस्थामा किटाणुसँग सम्पर्कमा आउनसाथ रोग लाग्ने सम्भावना उच्च रहन्छ । अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएको हुन्छ ।

तसर्थ खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा खोरको सर-सफाईमा विशेष ध्यान दिनुपर्छ । यसरी एकै खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा गरिने खोरको विशेष प्रकारको सर-सफाईलाई टर्मिनल डिसइन्फेकसन (Terminal Disinfection)  भनिन्छ ।

नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै निम्न अनुसारको काम गर्नुपर्छ ।

टर्मिनल डिसइन्फेकसन
१. खोरमा भएको भाँडा-कुँडा, फिडर, ड्रीङ्कर लगायतका सबै सर-सामाग्री हटाउने । इक्युपमेन्टका पाठ-पुर्जा खोल्ने । पहिला पानीको फोहोराले ब्रसले घोट्दै सफा गर्ने । त्यसपछि घाममा सुकाउने । (खोरमा पुन जडान गर्न अगाडी एकपल्ट निसंक्रमण झोल फर्मालिनले सफाई गरेर मात्र जडान गर्ने । )

२. पुरानो सोत्तर, माकुराको जालो, पोखिएका भुस तथा दाना लगायतका सबै अर्गानिक फोहोर हटाई खोरबाट टाढा लागि राख्ने वा मलको रुपमा प्रयोग गर्ने । हटाउन अगाडी अर्गानिक फोहोरलाई ५ देखि १० प्रतिशत फर्मालिनले छिट्दा उपयुक्त हुन्छ ।

३. पानीको प्रयोग नगरी पहिला झाडु-कुचोले खोरको सफाई गर्ने । भुईमा टासिएको फोहोरलाई हटाउन ब्रसले वा अन्य कुनै उपयुक्त धातुले घोटेर वा खुर्केर हटाउने । यो विधिलाई ड्राई-क्लिनिङ्ग (Dry Cleaning) भनिन्छ ।

४. खोरमा भएका टुट-फुट तथा बिग्रे-भत्केको कुराको पुननिर्माण गर्ने । चर तथा प्वाललाई बन्द गर्ने ताकि मुसा, चरा आदी पस्न नसकोस ।

५. ५ – १० प्रतिशत सोडियम हाइपोक्लोराईट (Sodium Hypochlorite) को झोल पानि पाईप तथा ड्रममा रातभरी रहने गरि राख्ने र भोलिपल्ट सफा पानी प्रयोग गरेर फ्लस गर्ने । अथवा १ लिटर हाईड्रोजन परोकसाईड (Hydrogen Peroxide-5%) १० लिटर पानिको दरले पनि प्रयोग गर्न सकिन्छ ।

६. सादा पानीको फोहोराले क्रमश खोरको सिलिङ्ग, भित्ता र भुई सफा गर्ने । भुई सफा गर्दा रातभरि पानीले भिजाउने र भोलिपल्ट सफा गर्ने । त्यसपछि सर्फ पानीले भुई सफा गर्ने । यो विधिलाई वेट क्लिनिङ्ग (Wet Cleaning)  भनिन्छ ।

७. सम्भव भएसम्म फ्लेम गनले (आगोको ज्वालाले) खोरको सतह डढाउने । यो विधिलाइ हिट ट्रीटमेन्ट (Heat Treatment)भनिन्छ ।

८. त्यसपछि किटनाशक औषधि (साइथिओन ८ -१६ एम एल प्रति लिटर पानि) ले भुई छिटने ।

९. वासिङ्ग सोडा ४० ग्राम प्रति लिटर पानिको दरले छिट्ने । (१००० वर्ग फिटमा २ के जी वासिङ्ग सोडा र ५ लिटर पानि)। कास्टिक सोडा २० ग्राम प्रति लिटर पानीको दरले छिट्ने । (१००० वर्ग फिटमा १ के जी कास्टिक सोडा र ५ लिटर पानि) । यो विधिलाई केमिकल ट्रीटमेन्ट  (Chemical Treatment) भनिन्छ । काष्टिक सोडा प्रयोग गर्दा हातमा पन्जा लगाएर मात्र प्रयोग गर्ने ।

१०. ५ के जी चुना, १ लिटर मट्टीतेल, १ के जी निलो तुथो (कप्पर सल्फेट), १ के जी नुन, आधा के जी ब्लिचिंग पाउडर र आधा लिटर फर्मालिन १०० लिटर पानीमा मिसाएर १००० वर्ग फिट खोर क्षेत्रफ़ललाई पोत्ने । यो विधिलाई ह्वाईट वाश  (White Wash) भनिन्छ ।

११. २० ग्राम पोटासियम परम्याग्नेट र ४० एम एल फर्मालिन प्रति १०० क्युबिक फिटको दरले फुमिगेशन (Fumigation) गर्ने । फर्मालिन छिट्न वा फुमिगेसन गर्न अगाडी खोरको पर्दाहरु राम्रोसँग बन्द गर्ने । २४ घण्टापश्चात पर्दा खोलेर कम्तिमा ७२ घण्टा खुला हावा वहन दिने (अर्थात चल्ला विना नै खुला छोड्ने) ।

१२. व्रोइलर कुखुराको हकमा खोर तयार गरेपछि कम्तिमा ७ दिन खोर खालि राख्ने । सम्भव भएसम्म २ हप्ता सम्म खालि राख्न सके झनै राम्रो हुन्छ । अघिल्लो लटमा रोग संक्रमणको समस्या व्यापक भएको अवस्थामा यो अवधि दोब्बर गर्ने ।

१३. लेयर्स तथा प्यारेन्ट कुखुराको हकमा खोर तयार गरेपछि कम्तिमा १५ दिन खोर खालि राख्ने । सम्भव भएसम्म १ महिना सम्म खालि राख्न सके झनै राम्रो हुन्छ । अघिल्लो लटमा रोग संक्रमणको समस्या व्यापक भएको अवस्थामा यो अवधि दोब्बर गर्ने ।

१४. ३ इन्च जति बाक्लो हुनेगरी सोत्तर छर्ने । कतै बाक्लो र कतै पातलो नहुने गरी सबैतिर एकनासले सोत्तर छर्ने ।

१५. चल्ला ल्याउन अगाडी भाईरुसाईडल औषधि प्रयोग गर्ने ।

ब्रुडिङ तयारि :
खोर सफा गरिसकेपछि ब्रुडिङ गर्ने ठाउँ निश्चित गर्ने ।
घाममा सुकाइएको सोत्तर, निसंक्रमण गरेको दाना—पानीको भाडा, ब्रुडर र औषधिको व्यवस्था गर्ने ।
कम्तिमा तिन इन्च वाक्लो हुने गरि भुईमा चारैतिर सोत्तर छर्ने ।
सोत्तर माथि पत्रिका ओछ्याएर दाना-पानीका भाँडा र ब्रुडर राख्ने साथै वरिपरि १८ इन्च अग्लो ब्रुडर रिङ्ग (अथवा चिक गार्ड) राख्ने ।
प्रति ४० चल्ला १ गोलो चिक्स फिडर र प्रति ४० चल्ला १ गोलो चिक्स ड्रिङकरको दरले दाना-पानीको भाँडाको व्यबस्थापन गर्ने ।
उपकरणले सहि काम गरे नगरेको जाँच गर्ने । गर्मि मौसममा चल्ला आइपुग्नु भन्दा २४ घण्टा अगाडी नै र जाडोयाममा ४८ घण्टा अगाडी नै ब्रुडर र वत्ति बालेर तापक्रम दिने (खोरको तापक्रम ३५-३६ डिग्री सेन्टिग्रेड हुनुपर्ने) । खोरमा उपयुक्त तापक्रम कायम गर्न थर्मोमिटर राख्ने, निरन्तर तापक्रमको जाँच गर्दै आवश्यकता अनुरुप ब्रुडर तापक्रम घटाउने-बढाउने गर्ने ।
साथै चल्ला आइपुग्नु अगाडी नै दाना-पानीका भाडाहरु भरेर तयारि अवस्थामा राख्ने ताकि चल्ला आइसकेपछि तयारि गर्न ढिला नहोस ।
निम्न तालिका अनुसार ब्रुडिङ क्षेत्रफल मिलाउने र क्रमश बढाउदै लैजाने ।