काठमाडौं । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लास्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)  प्लास्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ। पाइरोलाइसिस नामक यन्त्रबाट प्लास्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो।

नाष्टका इन्जिनियर डा. रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लास्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए। यसलाई वर्गीकरण गरेर ६० प्रतिशत डिजल तथा २०र२० पेट्रोल र मट्टीतेल छुट्याउन सकिन्छ, डा ढकालले भने, नत्र सबै डिजल मात्र पनि बनाउन सकिन्छ।

उनले कार्यपत्र प्रस्तुत गर्दै प्लास्टिकलाई नवीकरण गर्न सकिने र नसकिने वर्गीकरण गरेर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए। नवीकरण हुने प्लास्टिकलाई पुनःनवीकरण गर्ने र नवीकरण नहुनेलाई पेट्रोलियम पदार्थ उत्पादन गर्न सुझाव दिए।

यसअघि नाष्टले ३५ नगरपालिकामा सो प्रविधि प्रयोग गरेर देखाइसकेको छ। ढकालले अहिले विश्वका ६५ मुलुकमा सो प्रविधि लागू भइसकेको जानकारी दिए। स्थानीय तहमा सो प्रविधि लागू गर्न रु ४० देखि ५० लाख पर्ने यन्त्र आवश्यक पर्ने बताइएको छ।

झापामा फालिएको प्लास्टिकजन्य फोहरबाट दैनिक २१ हजार लिटरभन्दा बढी उत्पादन गर्न सकिने नाष्टले जनाएको छ।

नाष्टका उपकुलपति प्रा. डा.जीवराज पोखरेलले जापानी संस्थासँग हातेमालो गरेर नेपालमा सो प्रविधि भित्र्याइएको र यसबाट मुलुक समृद्ध बनाउन योगदान पुग्ने बताए। कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्लास्टिकजन्य फोहरलाई नगरपालिकाले अवसरका रुपमा लिने बताए।