दाङ। लमही नगरपालकिा वडा नम्बर ५ निपासी ३६ बर्षीय कालुराम चौधरी नेकपा माओवादी केन्द्रवाट लमही नगरपालिकामा स्थानीय तहको निर्वाचनमा उप मेयर पदका उम्मेदवार हुन् । तर आज उनी लमही बजारमा तरकारी डुलाएर बेच्दै गरेको भेटिन्छन् ।

जान्न खोज्दा उनले सहज उत्तर दिन्छन् ‘ चुनावमा लागेको ऋण तिर्न तरकारी बेच्नुको विकल्प रहेन ।’ लमही बजारको पुरानो बसपार्कमा कालुरामले तरकारीको ठेला धकेल्दै ल्याउँदा शुरु–शुरुमा लमहीका स्थानीय व्यापारीहरु अचम्म पर्दथे ।

राजनीति गर्ने मान्छे किन यसरी तरकारी डुलाउँदै हिड्न थालेको हो भन्ने प्रश्न गर्दथे । ‘नेता भएरपनि यसरी बजार डुलाएर तरकारी बेच्ने ।’ भन्ने अधिकाँसले उनलाई प्रश्न गरेको कालुराम सम्झन्छन् ।

बजारमा यस्ता थुप्रै प्रश्नहरु तेर्सिदा कालुरामलाई सुरुमा अप्ठेरो नलागेको होइन तर आजभने उनलाई त्यस्ता कुराको कुनै वास्ता छैन ।नेकपा माओवादी केन्द्रवाट लमहीनगरपालिकावाट उप मेयर पदमा पराजित भएपछि उनी फेरि पूर्ववत जीवनमै फर्किएका हुन ।

निर्वाचनको समयमा निम्न वर्गको राम्रो साहानुभति बटुलेका चौधरीले निर्वाचनको समयमा लागेको ऋण तिर्नलाई तरकारी व्यवसाय संचालन गर्न थालेको बताए । ‘निर्वाचनमा लागेको ऋण पनि तिर्न पर्यो,घर परिवारपनि पाल्न प¥यो,अरु काम भेटिदैन,मैले यहि जान्या छु ।’ चौधरीले भने ।

उनले निर्वाचनमा कुनैपनि व्यापारी तथा उद्योगी संग आर्थिक साहेता नमागेको बताए । ‘आफ्नै बल बुता र आफ्नैले आर्जन गरेको शक्तिवाट चुनाव जितेपछि मात्रै स्वतन्त्र भएर काम गर्न सकिन्छ । त्यसैले मैले कसैवाट आर्थिक साहेता मागेन ।’ चौधरीले भने ।

विहानै उठेर गाउँघरमा गएर तरकारी संकलन गर्छन र बजारमा ठेलामा डुलाएर तरकारी बेच्नु चौधरीको दिनचर्या बनेको छ । तर समय समयमा छिमेकी जिल्ला प्यूठान र रोल्पासम्म तरकारी पठाउने गरेको चौधरीले बताए । उप मेयरका उम्मेदवारले घरघर र गल्ली गल्लीमा तरकारी डुलाउँदा ‘कसैले कमरेड नमस्कार’ भन्ने गरेको चौधरीले बताए ।

कतिपयले नेताज्यू, भन्ने गरेको कालुराम चौधरी बताउँछन् । उपभोत्ताले नेता भन्दा राम्रो मान्ने चौधरीले स्थानीय स्तरमा उत्पादन भएको तरकारी बेचेर जीवन चलाउन पाउँदा आनन्द लाग्ने गरेको बताए ।

‘स्थानीय स्तरमै उत्पादन भएको ताजा तरकारीलाई उपभोत्ताको घरघरमा पु¥याउँदा उपभोत्ता पनि खुःसी हुनुहुन्छ,मलाई पनि आनन्द आउँछ ।’ चौधरीले भने ।

कालुराम चौधरीले तरकारी व्यवसायी वाट दैनिक २० हजार भन्दा वढीको कारोवार गरि दैनिक दुई हजारदेखि तीन हजार सम्म आम्दानी हुने गरेको जानकारी दिए । यहि कमाइवाट उनले तीन सन्तानलाई शिक्षादिक्षा दिन सफल भएको बताए ।

चौधरीले आफू १८ वर्षको भएदेखि नै रिक्सा चलाउने काम गरेको बताउँछन् । रिक्सा संगै हाडवेर्यसमा सिमेन्ट बोक्ने लगायतको मजदुरी गर्दै आएका चौधरी सामाजिक काममा पनि उत्तिकै सक्रिय भएर खटिन्छन् ।

लमही नगरविकास समितिको पार्टी प्रतिनिधी, खिमवहादुर शाह माबी कोलहीको व्यवस्थापन समितिका अध्यक्ष र कर्री सामुदायिक वन उपभोत्ता समितिको अध्यक्ष भएर सामाजिक संस्थाको अनुभवपनि कालुरामले बटुलेका छन् ।