
हेलम्बु। हेलम्बुका किसानले आफ्नो ठाउँलाई स्याउको सहर बनाउने तयारी गरेका छन्। प्राविधिक सहयोग बिना आफै उत्साही भएर हेलम्बुलाई स्याउको सहरका रूपमा स्थापित गर्न व्यावसायिक खेतीमा जुटेका स्थानीय स्याउका बोटमा फूल खेल्न थालेपछि खुसी भएका छन्।
गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराकोबाट स्याउका बोटलाई जोगाउन हम्मेहम्मे परेको नाखोतेकी पेमालामु शेर्पा बताउँछिन्। उनले भारतको हिमाञ्चल प्रदेशबाट पाँच सय बिरुवा ल्याएर बारीमा स्याउखेती सुरु गरेकी छन्। ‘सरकारले केही सहयोग गरेको छैन’, शेर्पाले भनिन्, ‘कम्तीमा एउटा टोलमा एक जना जेटिए व्यवस्था गरिदिए पनि रोग र कीरा लाग्दा सजिलो हुन्थ्यो।’
प्राविधिक सहयोगको अभावमा स्थानीयको हौसलालाई यथावत राख्न कठिन हुने स्थानीय शिक्षक पूर्ण गौतम बताउँछन्। २०४१ सालमा पहिलोपटक हेलम्बुको मेलम्चीघ्याङ आएका शिक्षक गौतम अहिले पनि त्यतिबेला रुखबाट स्याउ टिपेर खाएको सम्झन्छन्।
हेलम्बुको त्यही सुन्दरताले तानेर त्यहीं विद्यालय खोलेर अहिलेसम्म निरन्तर बसिरहेका गौतम दुई दशक अघिको स्याउखेती ब्यूँताउन मेलम्चीघ्याङवासीलाई हौस्याइरहेका छन्। तर, विडम्बना त्यो दिन फर्काउन सरकारी सहयोग बिना सम्भव छैन। ‘सरकारले गाउँमा प्राविधिकको व्यवस्था गरिदिए हेलम्बुमा स्याउखेती व्यावसायिक रूपमै अघि बढ्ने लक्षण देखियो’, गौतमले भने, ‘जति खेती सुरु भएको छ त्यहाँ बोट हुर्किरहेका छन्।’
५० को दशकसम्म राम्रै उत्पादन हुँदै आएको हेलम्बुको स्याउ पछिल्लो समय किम्बदन्ती बनेको छ। पर्यटकीय नगरी हेलम्बुमा स्याउ उत्पादन हुन छाडेको दुई दशक बितिसक्यो। स्थानीय विगतमा फलेका स्याउका दानाको अहिले पनि स्मरण गर्छन्। त्यतिबेला थाहा पाउन नसकेको रोगले हेलम्बुका स्याउ सखाप भएपछि दुई दशकसम्म कसैले पुनः हेलम्बुमा स्याउ फलाउने प्रयास गरेनन्। अहिले युवा पुस्ता स्याउको सहरका रूपमा चर्चा कमाएको हेलम्बुलाई पुनः त्यही पहिचान दिन लागिपरेका छन्। दुई दशकअघि जस्तै लटरम्म स्याउ फलाउने अपेक्षा राखेर हेलम्वुका गाउँमा भारतको हिमाञ्चल प्रदेशबाट बिरुवा ल्याएर किसान स्याउखेती गर्न थालेका छन्।
सरकारी निकायले कुनै प्रयास नगरेपछि स्थानीय आफैले प्राविधिकसँग सहयोग लिएर स्याउखेतीको सुरुवात गरेको शेर्माथानका कर्मातोप्के लामाले बताए। ‘विगतमा जस्तै हेलम्बुलाई स्याउको सहरका रूपमा चिनाउन हामी प्रयास गरिरहेका छौं’, स्थानीय अगुवा कर्मातोप्केले भने, ‘सरकारी निकायले सहयोग नगरेपछि हामी आफै पनि सक्षम छौं भन्ने देखाउन पुनः खेती सुरु गरिएको हो।’ कर्मातोप्केका अनुसार हेलम्बु मात्र हैन त्यस क्षेत्रका मनोरम गाउँ किउल, बरुवा र बाँसखर्कका हिमाली गाउँमा पनि स्याउखेती सुरु गरिएको छ। नाखोतेमा मात्रै झण्डै १४ हजार स्याउका बिरुवा रोपिएको छ।
तार्केघ्याङका कार्केप शेर्पा त्यतिबेला बजारको अभावले पनि स्थानीयले स्याउखेतीमा चासो नदेखाएको बताउँछन्। ‘स्याउ बेच्न काभ्रेको लामिडाँडासम्म डोकोमा बोकेर जानुपथ्र्यो’, शेर्पाले भने, ‘उहाँ पाउने मूल्यभन्दा ढुवानी ज्याला महँगो लाग्ने भएपछि स्याउ बिक्री गर्न नै छाड्नुप¥यो। अहिले बजारको समस्या छैन, नजिकै यातायातको साँधन गुड्छ त्यसैले फेरि खेतीको प्रयास गरेका हौं। ’