सर्लाही। उखुको भुक्तानी माग गर्दै सर्लाहीका किसान आन्दोलित भएका छन् । उखु बिक्रीबापतको पैसा नपाएपछि उनीहरुले शुक्रबार इन्दुशंकर चिनी उद्योग हरिवनको मूलगेटमा कालोझन्डा गाडेका हुन् ।

उखु बिक्री गरेको लामो समयसम्म पनि उद्योगले भुक्तानी रोक्दा व्यवहार धान्न समस्या भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको किसानहरुको भनाइ छ ।

उखु उत्पादक समिति र नेपाल उखु उत्पादक किसान संघको अगुवाइमा किसानले आन्दोलन गरेका हुन् ।तत्काल भुक्तानी नपाए यही चैत ५ गतेदेखि उद्योग परिसरमा रिले अनसन थाल्ने पनि किसानहरुले बताएका छन् । उता, इन्दुशंकर चिनी उद्योगका प्रबन्धक योगनारायण रजकले चिनी बिक्री नभएकाले किसानलाई भुक्तानी नसकेको बताए ।