अंगुरको राम्रो संग खेती गर्ने हो भने अन्य फलफूलमा भन्दा यसबाट बढी नै आम्दानी लिन सकिन्छ ।  किनभने अन्य फलफूल भन्दा मिठो, पोषिलो र महंगो हुने हुन्छ । यसैले गर्दा पनि आजकाल यसको खेतीतर्फ सुस्तै भए पनि मानिसहरु आकर्षित हुँदै गइरहेका छन् ।
अंगुर ज्यादै नै मिठो र पोषिलो फल हो । यसमा भिटामिन, ग्लुकोज, खनिज तत्वजस्ता पौष्टिक तत्वहरु भरिपूर्ण हुन्छ । यो ताजै खान र सुकाएर किसमिस बनाइ खाने पनि गरिन्छ । यदि हामीहरुले दैनिकरुपमा ताजा अंगुर नभए पनि किसमिस मात्रै केही मात्रामा खाने गरेमा प्रशस्त शक्ति दिने गर्दछ । तसर्थ यसका २-४ बोट भए पनि लगाउनु जरुरी देखिन्छ ।

यसको खेती सबै खाले माटोमा गर्न सकिन्छ । तर दोमट खालको माटो भएमा धेरै राम्रो मानिन्छ । यो पतझड् वर्गमा पर्ने फल भएको हुँदा  पात झरेको अवस्थामा र्नै यसको कटिङ्ग गरी रोप्ने कार्य गरिन्छ ।

अंगुरका जातहरुः यसका धेरै किसिमका जातहरु भए पनि केही जातको मात्र जानकारी गराइएको छ । यी मध्ये कुनै पनि जात छनोट गरी लगाउन सकिन्छ ।
परेलेट : यो जात ज्यादै नै मिठो, बिँया नभएको, छिट्टै पाक्ने, सेतो खालको जात हो ।
हिमरोडः यो जात पनि परलेट जस्तै मिठो, बिँया नभएको छिट्टै पाक्ने जात हो ।
ब्यूटी सिडलेसः यो जात कालो, बोक्रा पातलो, बिँया नभएको जात हो ।
क्याहो : यो जात भने हल्का रातो, कालो बिँया हुने, ठूलो खालको, ढिलो पाक्ने र वर्षा सहन सक्ने जात हो । यी जातका अंगुरको खेती बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा राम्रोस‘ग हुने गरेको पाइएको छ ।

लगाउने समय : पतझड खालको बेर्ना हुने भएको हुँदा  यसको मुख्य लगाउने समय पुसदेखि माघसम्म राम्रो मानिन्छ । तसर्थ यी महिनाभित्रै बेर्नाहरु लगाउनु पर्दछ ।

लगाउने तरीका : यसको बेर्ना लगाउनको लागि लाइनदेखि लाइनको दूरी तीन मिटर र बोटदेखि बोटको दूरी पनि तीन मिटरको फरक पारी तीन फिटको गहिरो खाडल खन्नुपर्दछ । खाडल खन्दा माथिको माटो र तलको माटोलाई छुट्टाछुट्र्टै राखी प्रतिखाडल दश केजी गोबर मलका दरले उक्त माटोमा मिलाई माथिको माटोलाई तल (पिंधमा) र तलको माटोलाई माथि पर्ने गरी खाडल भर्नु पर्दछ । त्यसपछि बीच सेन्टरमा पर्ने गरी बेर्ना रोप्नुपर्ने हुन्छ ।

कस्तो बेर्ना रोप्ने : अंगुरको बेर्ना कटिङ्गबाट नै हुने गर्दछ । बेर्ना तयार गर्दा अंगुरका लहराबाट कटिङ्ग गरी बेर्ना तयार गरिन्छ । बेर्ना खरीद गर्दा सकेसम्म राम्रो जरा आएको, धेरै पालुवा नआएको (नपलाएको), केवल टुसा निस्कने जस्तो खालका बेर्ना खरीद गर्नुपर्दछ ।

दि आफैले अंगुरको कटिङ्ग गरी बेर्ना तयार गर्ने हो भने मंसिर महिनामा नै अंगुरको लहराबाट ३-४ आँखा रहने गरी एक बित्ताका टुक्रा (कटिङ्ग) पारी बालुवासहितको खादमा उक्त कटिङहरुलाई पुरेर राख्ने र पछि तिनै कटिङलाई नर्सरी व्याड बनाई व्याडमा रोप्ने गर्नुपर्दछ । जब व्याडका कटिङहरुले जरा हाल्न थाल्छन् त्यसपछि मात्रै जरा भएका बेर्नालाई उखेली रोप्न तयार पारेको खाडलमा रोप्नुपर्दछ ।

बेर्ना रोपेपछि बेर्नाहरुले लहरा हाल्न थाल्छन्, त्यसबेलामा वरपरका हाँगा निस्केकालाई चुडाई दिनुपर्दछ । किनभने अंगुरको लहरा २-३ मिटर अग्लो हुँदा  सम्म सोझै जान दिनु पर्दछ । त्यसपछि मात्रै हाँगाहरु बढ्न दिनु राम्रो हुन्छ । बढी झाङ भएमा फल राम्रो दिदैन । त्यसैले बढी झाङ हुन दिनु हुँदैन । अंगुरको फल लाग्नुभन्दा पहिले र फल लागिसकेपछि बोटको वरिपरिबाट मल दिने र ७-७ दिनको अन्तरमा सिंचाई दिदै गर्नुपर्दछ । अघौटे जातका अंगुरहरु जेठको अन्तिमतिर पाक्ने भएको हुँदा  चराहरुबाट बचाउनु गर्नुपर्दछ । अंगुर पाकेपछि अंगुरका झुप्पालाई हातले नचुडाई कैंचीले काटी राम्रोसंग राख्नुपर्दछ, अन्यथा दानाहरु खस्ने हुन्छन् ।

अंगुर पाक्ने समय : अंगुर पाक्ने समय ठाँउअुनसार र जातअनुसार हुने गर्दछ । सरदर भन्नुपर्दा रोपेको १२० देखि १३० दिनभित्र पाक्ने गर्दछ । अंगुरको फलमा गुलियो मिठास भएपछि टिप्ने गरिन्छ । अन्य फलहरु भने काँचै टिपी पकाउने गरिन्छ भने यसको फलमा यो तरीकाबाट हुन सक्दैन, पाकेपछि मात्रै टिप्ने गरिन्छ । छिट्टै टिपेका अंगुरहरु अमिलो हुनेगर्दछन् । त्यसैले समय पुगेपछि मात्र टिपाई गर्नु राम्रो हुन्छ ।

अंगुरका बोटबाट पातहरु झरेपछि बोटको काँटछाँट गर्नुपर्ने हुन्छ । यो काम कार्तिक, मंसिरतिर गर्नुपर्दछ र त्यसबाट बेर्ना निकाल्ने भए कटिङ्ग गरी माथि बताएअनुसारको तरीका अपनाई बेर्ना तयार गर्नुपर्दछ । यदि कसैलाई यसको बेर्ना रोप्न इच्छा भएमा सम्बन्धित कार्यालयमा सम्पर्क राखी बेर्ना प्राप्त गर्न सक्नुहुन्छ ।