तेह्रथुम । तेह्रथुमको सोल्मामा आधुनिक प्रविधिजडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्थामार्फत स्थानीय चिया उत्पादक किसान आफैँले उद्योग स्थापना गर्न लागेका हुन् ।

उन्नति परियोजनाको सहयोगमा सोल्माका किसान सेयर सदस्य रहेको सहकारीले चिया प्रशोधन उद्योग स्थापना गर्न लागेको हो । तीन करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न हुने उक्त उद्योगको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगको भवन निर्माण, चिम्नी, चुलो, गार्ड रुम निर्माण आदि संरचना निर्माण अन्तिम चरणमा पुगेका छन् । उद्योगलाई आवश्यक मेसिनसमेत खरिद गरी जडान गर्ने काम भइरहेको उक्त सहकारी संस्थाका व्यवस्थापक तथा जिल्ला चिया उत्पादक सहकारी सङ्घका अध्यक्ष शङ्कर खनालले बताए ।

उद्योगका लागि अहिलेसम्म एक करोड ४० लाख २९ हजार रुपैयाँ खर्च भइसकेको छ । त्यसमध्ये ८७ लाख ५४ हजार रुपैयाँ उन्नति परियोजनाले उपलब्ध गराएको हो । उद्योगको मेसिनेरी सामान खरिदका लागि ७६ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ । भवन निर्माणका लागि ५७ लाख ५८ हजार, पत्ती सङ्कलन गर्ने पिक अप खरिदका लागि २१ लाख ९६ हजार र ट्रान्सफर्मर खरिदका लागि चार लाख ३९ हजार रुपैयाँ खर्च भएको सहकारी संस्थाका अध्यक्ष खेमबहादुर केप्छाकीले बताए ।

‘चैत दोस्रो सातापछि उद्योग सञ्चालनमा आउनेछ,’ उनले भने । उद्योग सञ्चालनमा आए वार्षिक ४० हजार किलो अग्र्यानिक अर्थोडक्स चिया उत्पादन हुनेछ । उद्योगले तत्कालका लागि जिल्लामा उत्पादन भएको सबै हरियो चिया पत्ती खपत गर्न सक्नेछ ।

हाल सोल्मामा डेढ लाख किलो हरियो पत्ती उत्पादन हुन्छ । शुक्रबारे, ओयाक्जुङ, मोराहाङ, श्रीजुङलगायत क्षेत्रमा उत्पादित चिया पत्तीसमेत गरी वार्षिक पचास हजार किलो जम्मा भएमा त्यो सबै हरियो पत्ती उद्योगले खपत गर्न सक्छ । सो उद्योगमा प्रत्यक्षरअप्रत्यक्ष रुपमा दुई सयभन्दा बढीले रोजगारी पाउने भएका छन् ।

सोल्मामा २ सय १९ परिवाले करीब एक हजार ४ सय रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् । जिल्लामा कुल दुई हजार ४ सय रोपनीमा चिया खेती गरिएको तथ्याङक छ । चिया खेतीमा ४ सय ५ परिवार संलग्न रहेको जिल्ला चिया उत्पादक सहकारी सङ्घले जनाएको छ । ती किसानले कम्तीमा एक रोपनीदेखि ४० रोपनीमा चिया खेती गरेका छन् ।