
खोटाङ। खोटाङ सदरमुकाम दिक्तेलबजारमा ब्रोइलर कुखुराको अभाव भएको छ । सदरमुकामका करिब २२ वटा फ्रेस हाउसबाट दैनिक रुपमा औसत दुई सय किलो ब्रोइलर कुखुराको मासु खपत हुने बजारमा अहिले मासु अभाव रहेको हो ।
ब्रोइलर कुखुरा पालन व्यवसायमा जिल्लामा आईपर्ने प्राविधिक समस्याका साथै केही व्यवसायीले असन्तुलित रुपमा मूल्य घटाएर बिक्री गरेको कारण हाल कुखुराको मासु अभाव भएको पोल्ट्री व्यवसायीले जनाएका छन् । कार्तिकदेखि माघ महिना अति चिसो मौसम हुने हुनाले चल्ला हुर्कानु नसक्नु एउटा समस्या रह्यो भने चल्ला र दानाको भाउ बढ्नु र केही व्यवसायीले एक्कासी मासुको मूल्य घटाउनु अर्को समस्या भएको जनाइएको छ ।
चल्लाको लागि आवश्यक २८ देखि ३० डिग्री तापक्रममा हिउँदको समयमा जिल्लामा नपुग्नु, प्रतिगोटा ७० देखि ८० रुपैयाँमा पाईने चल्लाको भाउ फ्याक्ट्रीमै बढेर १ सय पुग्नु, कुखुराको दानामा प्रतिकिलो ३ रुपैयाँको दरले मूल्यवृद्घि हुनु नै हाल ब्रोइलर अभावको कारण भएको पोल्ट्री ब्यवसायी जिल्ला तदर्थ समितिले जनाएको छ ।
प्रतिकिलो ४ सय ४० रुपैयाँमा बिक्री भइरहेको मासुलाई बाहिरको व्यवसायी आएर ३ सय रुपैयाँमा झारेका कारण चल्ला ल्याउन व्यवसायी हिच्किचाएको तदर्थ समितिका सचिव राम बजगाईंले बताए ।