गौशाला। महोत्तरीको दक्षिण पश्चिमवर्ती आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई फेला परेका छन् ।भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दा बढीको संख्यामा देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीयवासीले यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलो रंगका ती जनावर एक्कासि गाउँको वनमा आएपछि गाउँले जनावरलाई हेर्न वनमा ओइरो लागेको मनराका रामदिनेश चौधरीले बताउनुभयो ।

नीलगाईले त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलका हुल प्रवेश गरेर सबै तरकारीबाली खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको इटहर्वाका अवधेश कापरले बताउनुभयो ।

सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका नीलगाई वनका सबै बालीनाली नष्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउन जाने मानिसलाई देख्नेबित्तिकै भाग्ने गरेका छन् ।

करिव एक सातादेखि त्यस क्षेत्रका मनरा, भोलही, पोखरभिण्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा ती जनावरको दौडादौड मच्चिएको र छवटै गाउँका वनमा लगाइएको बालीनाली नष्ट पारिरहेको गैँडाभेटपुरका वीरेन्द्र यादवले बताउनुभयो ।

जिल्लाको माथिल्लो भागमा रहेका वन जंगलमा डढेलो, चोरी शिकारीजस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु नीलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् ।