पर्सा। सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–१, मधुवन मथवलका किसानले लगाएको मकैबाली बिग्रिएका कारण किसानहरु मर्कामा परेका छन् । मकै भित्र्याएर घर ब्यवहार मिलाउला भन्ने किसानको योजना अधुरो हुने भएको छ ।

बोटमा रहर लाग्दो मकैको घोगा छ, तर घोगामा दाना छैन । मकै भित्र्याउने बेला भएपनि घोगामा दाना नभएपछि किसानको सबै मेहनत खेर जाने भएको छ । मकैको घोगामा दाना नदेखिएपछि किसानले मकै खेतीमा ट्रयाक्टर लगाएर बैकल्पिक खेतीको तयारीमा लागेका छन् ।
चैतको पहिलो वा दोश्रो सातामा मकै भित्र्याउने बेला हो । तर, मकै नफलेपछि किसानले बैकल्पीक बाटो खोजेका छन ।

मधुवन मथवलको औराहा ,सिद्धपुर सथवलमा लगाइएको करिब ३ बिगाहमा लगाइको मकैबाली दाना नभएको पाइएको छ । यसपालि उन्नत जातका बन्नी, डे«गन, श्रेस्ता, सिपी ८०८ जस्ता ब्रान्डका मकैंको बीउ रोपेर कृषि प्राविधिकको परामर्श अनुसार भिटामिन, मल, कीटनाशक प्रयोग गरी समय—समयमा सिंचाइ पनि गरेका थिए । तर बेला पुगेर पनि मकैमा दाना लागेन ।

अन्य गाउँमा पनि मकैबाली लगाइएको छ । अलि ढिलो गरी लगाइएको भएकोले त्यसमा दाना हुन्छ कि हुँदैन त्यो हेर्न अझै केही दिन कुर्नु पर्ने किसानले बताएका छन् । मकैंमा दाना नलागेको गुनासो बढीरहेको जिल्ला कृषि कार्यालय पर्साका प्रमुख बीरेन्द्र सिन्हाले बताउनुभयो । उहाँले मधुवन मथवलमा ३ बिगाहमा लगाइएको मकैमा दाना नलागेको गुनासो आएको बताउनुभयो ।

किसानले बाराको जीतपुर बजारमा रहेको किसान बीज भण्डारबाट मकैको बीउ किनेका थिए । बीउ बिक्रेता शिवनारायण चौधरीले मकैको बीउ आयातकर्तासँग कुरा गर्ने आश्वासन दिएको स्थानीय किसानले बताएका छन । तीन बिगाहमा लगाइएको बालीमा करिब पौने पाँच लाख रुपैयाँ बराबरको नोक्सानी हुने किसानले बताएका छन् ।