रसुवा। रसुवामा एक वर्षमा करिब साढे तीन मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा कफी उत्पादन हुने गरेको थियो।

कफीको माग बढ्दै गएपछि कृषकले कफी खेती विस्तार गर्दै लगेपछि पछिल्लो समय कफी उत्पादनमा बृद्धि भएको हो । जिल्लाको सरमथली, धैबुङ, भोर्ले र लहरेपौवामा कफी उत्पादन हुने गरेको छ । कफीले राम्रो बजार पाउन थालेपछि कृषकले कफी खेती विस्तार गर्दै लगेको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ।

कार्यालयका अनुसार नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा करिब ७।५ हेक्टर क्षेत्रफलमा कफी खेती हुने गरेको छ । जिल्लामा उत्पादित कफीको तयारी दाना बिक्रीका लागि काठमाडौं र सिन्धुपाल्चोक लैजाने गरिएको छ । वार्षिक रुपमा करिब १२ लाख रुपैयाँ बराबरको कफी बिक्री हुने गरेको कार्यालयका प्राविधिक सहायक भिष्मबहादुर बस्नेतले बताए।

यो वर्ष कफी उत्पादन बढेको र तथ्यांक संकलन गर्ने कार्य भइरहेको उनले बताए । कफी उत्पादन बढाउनका लागि कार्यालयले तालिम दिने तथा अनुदानमा कफीको बिरुवा वितरण गर्ने गरेको छ ।केही वर्ष पहिले घरायसी प्रयोजनका लागि थोरै परिमाणमा कफी उत्पादन हुँदै आएकोमा अहिले सामूहिक रुपमा नै कफी उत्पादन गरेर बिक्री गर्ने गरेको पाइन्छ।

जिल्लाको भोर्लेमा सात मेट्रिक टन, लहरेपोवामा चार, धैबुङमा चार र सरमथलीमा वार्षिक दुई मेट्रिक टन कफी उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ ।