ओखलढुंगा। चिसो छल्न बेंसीतिर झरेका भेडीगोठ पुनः लेकका खर्कहरुमा फर्किन थालेका छन् । ओखलढुंगासहित पूर्वी भेगमा पालिने भेडाहरु गर्मी याम सुरुभएसंगै लेकतिर फर्काउन थालिएको हो । हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि असोजको पहिलो सातातिर हिमाली खर्कबाट भेडीगोठ बेंसीतिर झरेका थिए । करीब ६ महिना हिमाली भेग र ६ महिना बेसीका फाँटहरुमा भेडाको बासस्थान हुन्छ ।

जाडोयाममा बेसी झार्ने गोठलाई उधौली र गर्मीयाममा हिमाली भेगमा सारिने गोठलाई उभौली भनिन्छ । जाडो मौसममा लेकाली भूभागमा तुषारो पर्ने भएकाले चरिचरण नहुने हुदाँ भेडीगोठ बेसीतिर झार्ने गरेको र गार्मी मौसममा बेसीका फाँटहरुमा चरिचरणका लागि अनकुल मौसम नहुने हुदाँ गोठ लेकतिर सार्ने गरेको भेडापालक कृषक डम्बर राईको भनाई छ ।

बेंसीमा भन्दा हिमालतिर भेडा चराउन रमाईलो लाग्ने भेडी गोठालाहरु बताउछन् । गोठालाहरुका अनुसार भेडालाई पनि लेकाली खर्कहरु चरिचरणका लागि उपयुक्त स्थान मानिन्छ । लेकाली भूभागमा भेडीगोठ राखिदाँ भेडाको बृद्धि विकास समेत चाँडो हुने र बेशीतिर झारेपछि भुत्ला झर्ने तथा विभिन्न रोगहरुको संक्रमण हुने गर्छ । त्यसैले लेकाली भूभाग नै भेडाका लागि उपयुक्त हुने कृषकहरुको भनाई छ ।

परम्परागत रुपमा गुरुङ समुदायको पुख्यौली पेशा मानिने भेडापालन व्यवसाय पछिल्लो समय भने पातलिदै गएको छ । भेडा चराउन दुःख हुने र काम झन्झटिलो हुने भन्दै युवा पुस्ताले नाक खुम्च्याउन थालेपछि भेडी गोठ पनि खुम्चिन थालेको हो । त्यसमाथि चरणक्षेत्रमा विभिन्न सामुदायिक बनले लगाउदै आएको प्रतिबन्धका कारण चरणक्षेत्र साँघुरिदै जादाँ यो पेशा समस्यामा समेत पर्दै गएको भेडापालक किसानहरुको भनाई छ ।

भेडा पालन ब्यवसाय ओखलढुंगाको रुम्जाटार ,सोलुखुम्बुको सल्यानसहित पूर्वी भेगका गुरुङ समुदायले पुख्र्यौली पेशाका रुपमा अंगाल्दै आएका छन् ।