काठमाडौँ। काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका सहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् । थोक बजार निजी क्षेत्रले समेत सुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताए ।

यसअघि सरकारको प्रत्यक्ष लगानीमा यस्ता थोक बजार सञ्चालनमा थिए । अहिले निजी क्षेत्रले समेत थोक बजार सुरु गरिरहेका छन् । ठूला थोक बजार किसान र उपभोक्ता दुवैका लागि फाइदाजनक हुने उनको भनाइ छ । वाग्लेले भने, ‘एकातिर किसानले उत्पादनको राम्रो मूल्य पाउँछन् भने अर्कातिर उपभोक्ताले पनि ताजा र कम मूल्यमा तरकारी र फलफूल किन्न पाउँछन् ।’

देशका विभिन्न सहरमा सरकारको सहयोगमा २७ ओटा थोक बजार सञ्चालनमा छन् । यीमात्रै पर्याप्त नभएपछि निजी क्षेत्रले पनि थोक बजार सञ्चालन गर्न थालेका हुन् । काठमाडौँ उपत्यकाको मनोहरामा केही समय पहिलेबाट निजी क्षेत्रले थोक बजार सुरु गरेको छ । उपत्यका बाहिर पनि यस्ता बजार धेरै छन् ।

उनी भन्छन्, ‘सहरी क्षेत्रमा जनसङ्ख्या बढ्दै छ, त्यहाँ ठूला थोक बजारको खाँचो छ ।’ साना खुद्रा बजार जिल्ला कृषि विकास कार्यालयमा र अरु विभागमा दर्ता भएर सञ्चालनमा छन् । कालीमाटी तरकारी तथा फलफूल बजारको भने नियमन मन्त्रालय आफैँले गर्दै आएको छ ।