विराटनगर । मोरङका बाढी प्रभावित किसानका लागि आएको ५ करोड रुपैयाँ राहत कर्मचारीले वितरण नगर्दा फिर्ता हुने अवस्थामा पुगेको छ ।

कृषि मन्त्रालयले गत असोज २२ गते पठाएको रकम कृषि कार्यालयले कर्मचारी अभाव देखाउदै वितरण गरेको छैन । राहतका लागि किसानले निवेदन दिए पनि ५ करोड ४२ लाख ५३ हजार रुपैयाँ फिर्ता हुने अवस्थामा पुगेको छ ।

कृषि मन्त्रालयले कृषि बालीमा भएको क्षतिको आधारमा किसानलाई मलखाददेखि साना सिञ्चाई आयोजना निर्माणसम्म बनाइदिने योजना बनाएको थियो ।

कृषि कार्यालयका सहायक सूचना अधिकारी रुद्रराज राउतले कर्मचारी अभाव र नीतिगत समस्याका कारण राहत वितरण गर्न नसकेको बताए ।‘राहत कार्यक्रममा समावेश धेरै कार्यक्रमको वितरणमा नीति पनि प्रष्ट छैन, कर्मचारी पनि पर्याप्त छैनन्, अहिलेको अवस्थामा कार्यक्रम कार्यान्वयमा जान सक्ने अवस्था देखिदैन’ उनले भने ‘यस्तो अवस्थामा बजेट फिर्ता हुने निश्चित छ ।’

राउतले क्षतिको आधारमा राहत रकम न्युन आएकाले वितरणमा समस्या भएको पनि बताए । राहत रकम चालु आर्थिक वर्षको अन्त्य अर्थात २०७५ को असार मशान्तसम्म वितरण गरिसक्नुपर्छ । तर आउँदो चैत २८ पछि कृषि कार्यालय नै स्थानीय तहमा समायोजन हुँदैछ । ४० जना कर्मचारीमध्ये धेरैजसो कर्मचारीहरु स्थानीय तहमा खटिएकाले हाल कृषि कार्यालयमा ४ जनामात्र कर्मचारी छन् ।

कस्ता छन् राहत कार्यक्रम

बाढी प्रभावित किसानका लागिसरकारले मलखाद, साना सिञ्चाई, फलफूलका विरुवा वितरण, भकारो सुधार लगायतका राहत कार्यक्रम ल्याएको थियो । यसमा सबैभन्दा बढी ४४ लाख १३ हजार रुपैयाँको माछाका भुरा वितरण गर्ने योजना छ ।

४२ लाख ३४ हजार रुपैयाँको युरिया मल वितरण, भकारो सुधारमा ५ लाख २० हजार, प्रांगारिक मल वितरणमा १९ लाख २० हजार रुपैयाँ वितरणको योजना छ । त्यस्तै विभिन्न जातका फलफूल वितरण गर्न ३ लाख ७५ हजार रुपैयाँ छुट्याइएको छ ।

४५ करोडको क्षतिमा ५ करोड राहत

साउनको अन्तिम साता आएकोे बाढीले मोरङमा ४५ करोड रुपैयाँको कृषि उपज क्षति भएको छ । तर सरकारले भने ५ करोड ४२ लाख ५३ हजार रुपैयाँमात्रै राहत पठाएको छ ।

साउनको २८ र २९ गते आएको बाढीले धानवाली, फलफूल, तरकारी, जुट, माछा, रहर र बेसन खेतीमा ठूलो क्षति पुगेको थियो ।

२२ दशमलव ८ हेक्टरको धान खेती नष्ट हुदा २१ करोड २१ लाख २७ हजार रुपैया बराबरको नोक्सानी भएको थियो ।

-अनलाईन खबर बाट