काठमाडौं। तपाईसंग व्यवसाय गर्ने योजना छ, तर पैसा नभएर अघि बढाउन सक्नु भएको छैन रु अब चिन्ता नगर्नुस तपाईसंग स्नातकोत्तर तहसम्मको प्रमाणपत्र धितोमा राखेर कर्जा पाइने छ ।

तर त्यसका लागि आफनो व्यवसायीक योजना पेश गर्नुपर्ने छ । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा आउदो बैशाखदेखि उद्यम गर्न ऋण दिने भएको छ । नेपाल युवा तथा खेलकुद मन्त्रालय, नेपाल युवा परिषदले शैक्षिक प्रमाण पत्रको आधारमा उद्यम खोल्नलाई ऋण दिने अन्तिम तयारी गरेका छन् ।

स्वदेशमै स्थानीय स्रोत तथा साधनको प्रयोग गरी विदेशिनबाट युवाहरुलाई रोक्न विगतनै सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा उद्योग खोल्न ऋण दिने घोषणा गरेको थियो । त्यसलाई मूर्तरुप दिन लागेको परिषदले बताएको छ ।

परिषदको प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले फागुनभित्रै उक्त कार्यक्रमको लागि कार्यविधि तयार हुने बताए । उनका अनुसार वैशाखदेखि कार्यक्रम सुरु गरिनेछ । यसवर्ष ‘पाईलट प्रोगाम’को रुपमा कार्यक्रम सञ्चालन गरिनेछ ।‘वैशाखमै उद्यम खोल्न प्रस्तावनाको लागि ३५ दिने सूचाना निकाल्ने तयारी गरिहेका छौं’, उनले भने ‘त्यसपछि आएको प्रस्तावलाई छनौट गरि ३५ जनालाई ऋण उपलब्ध गराउनेछौं ।’
विशेषज्ञहरुको सिफारिस र राष्ट्रिय कार्यकारी समिति रहेको छनौट समितिले मुलुकभरबाट आएको प्रस्ताव, शैक्षिक प्रमाण पत्र, सम्भावना लगायतको मूल्याङ्कन गरेर उद्योगको छनौट गर्ने उनको भनाइ छ । स्थानिय स्रोत साधान उपयोग गरिएको उद्योगहरुलाई प्राथमिकतामा राखिनेछ ।

‘छनौटमा परेका युवालाई उद्योग सञ्चालनको लागि १ देखि ३ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ,’ उनले भने ‘ऋणमा ब्याज लाग्दैन । किस्तामार्फत क्रण तिर्नु पर्ने व्यवस्था छ ।’ सुरु हुन लागेको कार्यक्रमको आधारमा आगामी वर्षहरुमा उक्त कार्यक्रमलाई विस्तार गर्दै लैजाने सरकारको योजना रहेको उनले जानकारी दिए ।

परिषदको अनुसार सञ्चालन गर्न लागिएको यस कार्यक्रमको लागि चालु आर्थिक वर्ष ७५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
प्रदान गरिएको ऋणबाट युवाहरुले कृषि तथा पशुपन्छी, वन तथा जडिबुटी, पर्यटन, निर्माण, कला संस्किृति लागायतका उद्योगहरु सञ्चालनमा आउने विश्वास गरिएको छ ।