रामपुर । आर्थिक रुपमा परनिर्भर हुँदै आइरहेका पाल्पाका महिला पछिल्लो समय आयआर्जनका निम्ति गाईपालनमा आकर्षित बन्दै गएका छन् ।

गाईपालन व्यवसाय शुरु गरेपछि महिला परनिर्भर हुनुपर्ने अवस्था हट्दै गएको छ । जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेका रमा घर्ती गाईपालन व्यवसायबाट आत्मनिर्भर बन्दै गएको छ । उहाँ जिल्लामै गाईपालन व्यवसायमा सफल व्यवसायीका रुपमा चिनिनुहुन्छ । आज भन्दा झण्डै दशवर्ष अघि दुईवटा गाईबाट व्यवसाय चलाउनु भएकी घर्तीले अहिले ९ वटा जर्सी र होलस्टिन जातको गाई पाल्नुभएको छ ।

दैनिक एक सय लिटर दूध बिक्रीबाट उहाँले मासिक रु एक लाखसम्म आम्दानी गर्नुहुन्छ । “गाईबाट नसोचेको आम्दानी भएको छ, पहिला घरभित्रको काममा मात्र सीमित थिएँ, अहिले जिल्लामै नमूना व्यवसायीका रुपमा चिनिन पाउँदा गौरव लागेको छ” उहाँले भन्नुभयो । घर्ती पाल्पा क्षेत्र नं १ प्रदेश ‘ख’ बाट समानुपातिकतर्फको प्रदेशसभा सदस्य हुनुुहुन्छ ।

त्यस्तै तानसेन नगरपालिका अर्गलीका पवित्रा गैरेको पनि आम्दानीको बलियो र दिगो स्रोत गाईपालन व्यवसाय नै बनेको छ । तत्कालिन माओवादीका पूर्वलडाकु गैरेले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा नै गाईफार्म सञ्चालन गर्नुभएको छ । सो फार्ममा हाल १८ वटा गाई छन् । दैनिक ७० लिटरसम्म दूध बिक्रीगरे वापत उहाँले मासिक रु ५० हजारसम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ ।

गैरेले रु पाँच लाखको लागतमा यो व्यवसाय शुरु गर्नुभएको हो । आर्थिक विकासबिना सामाजिक विकास गर्न नसिकने भएकाले आर्थिक सबलीकरणका लागि यो व्यवसाय सञ्चालन गरेको उहाँको भनाई छ ।

तानसेन नगरपालिका– ९ दमकडाका सुमा बञ्जाडे पनि वैदेशिक रोजगारी छाडेर गाईपालन व्यवसायमा लाग्नुभएको छ । छ वर्षसम्म विदेशमा काम गरेर स्वदेश फर्कनुभएकी बञ्जाडेको फार्ममा अहिले दशवटा उन्नत जातका गाई छन् । दैनिक ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्ने बञ्जाडेले मासिक रु ५० हजारसम्म आम्दानी लिँदै आएको बताउनुहुन्छ ।

“घरको आर्थिक समस्याका कारण महिला भएर पनि बाध्य भई विदेश पुग्नुपरेको छ, उहाँले भन्नुभयो– विदेशमा कमाएको त्यही धनले अहिले गाईफार्ममा लगानी गरेको छु ।”

त्यस्तै रामपुर नगरपालिका– ६ का विष्णुदेवी गैरे पनि चारवर्ष अघिदेखि गाईफार्म सञ्चालन गरिरहनुभएको छ । दूध बिक्रीबाट मासिक रु ५० हजार बराबरको आम्दानी लिँदै आउनुभएकी गैरेको फार्ममा अहिले जर्सी र होलस्टिन जातका दशवटा गाई छन् । जीवनमा निकै दुख झल्नुभएकी गैरेलाई गाईपालन व्यवसायबाट मनग्य आम्दानी हुनथालेपछि उहाँ यो व्यवसायबाट खुशी हुनुहुन्छ ।

महिलाले केही गर्न सक्दैनन् भन्ने पुरानो मानसिकताबाट अब मुक्त हुनुपर्छ, हिम्मत गरें नसक्ने पो के छ र रु “मेहनत गरियो भने अवश्य पनि सफलता पाइदोरहेछ भन्ने उदाहरण बनेका छन्– पाल्पाली महिला