सुर्खेत। कर्णाली प्रदेशलाईलाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई अगार्निक बनाउनका लागि आधार तयार गर्न विज्ञ र सरोकारवालाहरुसंग सुझाव संकलन गर्न सुरु गरेको हो ।

कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णयलाई कार्यान्वयन गर्नका लागि आधार तयार गर्न बिहीबार राजधानी विरेन्द्रनगरमा मन्त्रालयले सरोकारवाला र विज्ञसँग छलफल गरेको छ ।

छलफल कार्यक्रममा कार्यक्रममा कृषि विज्ञ डा.कृष्ण पौडेलले साविकको कर्णाली क्षेत्रलगायत कर्णाली प्रदेश अन्तरगतका अन्नबाली, फलफूल र जडिबुटीको सम्भावनाको कार्यपत्र प्रस्तुत गर्दै कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश गराउन रासायनिक विषादीमा रोक, नीतिनियम निर्माण र खाद्य उपभोगको बानीलाई परिवर्तन ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले ९० प्रतिशत किटाणु जैविक विषादीबाट पनि मार्न सकिने भएकाले प्रदेश सरकारले प्रदेशलाई अर्गानिक बनाउन सकिने बताउनु भयो ।

छलफलमा सहभागीहरुले कर्णाली प्रदेशमा कृषि क्षेत्रको सम्भावना भएकाले अर्गानिक प्रदेश बनाउन सबैभन्दा पहिले रासायनिक विषादीमा बिस्तारै रोक लगाउनुपर्ने सुझाव दिएका थिए । कर्णाली क्षेत्रमा उत्पादन हुने अन्नबालीको प्रोत्साहन गर्नुपर्ने सहभागिहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेशलाई अर्गानिक प्रदेश निर्माण गर्न सबै पक्षबाट सुझाव लिएर घोषणा गर्ने बताउनु भयो । उहाँले यसका लागि कृषि विज्ञको टोलीसंग सुझाव संकलन गरिएको र अब प्रदेशस्तरका विज्ञहरुसँग बसेर सुझाव संकलन गर्ने जानकारी दिनुभयो ।