ओखलढुंगा। ओखलढुङ्गामा यो वर्ष सयौ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको छ । लामो समय खडेरी परेर सिंचाई नहुँदा खेतबारी बाँझै रहेका हुन् । फागुनमा गहुँ, आलुलगायतका तरकारी खेतीले हरियाली देखिने खेतबारी यो वर्ष बाँझै रहेका छन् ।

ओखलढुंगाको लिखु गाउँपालिका ठूला टारी तथा बेँसी खेतहरु पानी नपरेपछि बाँझै रहेको स्थानीय कृषकहरुले जानकारी दिए । स्थानीय तीर्थ भट्टराईका अनुसार गाम्नाङटार र टारकेराबारीका डुडें, माटे, साठीबेँसी र सिस्नेबेँसी खेत अहिले बाँझै छन् । ‘यो क्षेत्रमा खेतबारी हुनेहरुलाई पहिले सम्पन्न ठान्ने र छोरी माग्न आउनेलाई छोरी दिने चलन थियो’ स्थानीय तीर्थ भट्टराईले भन्नुभयो ।

बेँसीभन्दा एक सय मिटर तल लिखु खोला बगे पनि सिस्ने बेँसिमा ३ सय रोपनी भन्दा बढी खेत बाँझै रहेको छ । पहिले पोकली खोलामा हिँउदमा राम्रै पानी हुँदा हिउँदमा गहुँ र आलु फल्ने खेत अहिले पोकली झरनाबाट अन्यत्र पानी लैजाने र सुक्न थालेपछि हिँउदको समयमा चरी चरणमा परिणत हुँदै गएको छ । लामो समयको खडेरीले सिंचाई नहुँदा खेतबारी बाँझै रहेको लिखु गाउँपालिका – ८ टारकेराबारीका कृषक हितबहादुर खड्काले बताउनुभयो ।

समयमै जोत खन गरेर पनि सिंचाई नभएकाले आलु र गहुँ रोप्न नपाएपछि बैशाख–जेठ मा मकै रोप्नुभन्दा अरु विकल्प नभएको लिखु गाउँपालिका – ६ का किसान रामचन्द्र भट्टराईले गुनासो गर्नुभयो । लिखुको पानी पम्पिङ प्रणालीबाट तानेर सिंचाई गर्ने व्यवस्था मिलाउन किसानहरुले माग गरे पनि गाउँपालिकाले चासो दिएको छैन ।

खडेरीकै कारण जिल्लाका अन्य क्षेत्रहरु सुनकोसी गाउँपालिकाका बलखु, सिस्नेरी, चम्पादेवीको पलापु, लिखुको सिंहदेवी, नर्मदेश्वर तथा मानेभञ्ज्याङ्गको थाक्ले, टोक्सेल हर्कपुरलगायतका स्थानहरुमा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् ।