काठमाडौं। बजारमा बेच्न राखिएका माछामा प्रयोग हुँदै आएको फर्मालिन (स्वच्छ राख्न प्रयोग गरिने रसायन) रोक्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

अधिवक्ता राजकुमार राना र चक्रलाल श्रेष्ठले फर्मालिन प्रयोगका कारण आम उपभोक्ता विषादी हालेको माछा खान बाध्य भएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले सोमबार परमादेश जारी गरेको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुली र केदारप्रसाद चालिसेको संयुक्त इजलासले नेपालभर बिक्री–वितरण हुने माछामा ‘फर्मालिन’ नामक विषादी प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी गरेको हो । आम उपभोक्ताको स्वस्थ माछा खान पाउने हक भएकाले माछालाई ताजा बनाउने नाममा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने विषादी प्रयोग नगर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।

भारतबाट नेपालमा भित्रिने माछामा फर्मालिन नामक विषादी प्रयोग गरेर बजारमा बिक्री–वितरण हुँदै आएको तर्फसमेत सर्वोच्चले सरकारको ध्यानाकर्षण गरेको छ । कुनै पनि वस्तुलाई ताजा बनाउने नाममा प्रयोग गर्ने फर्मालिन विश्वका धेरै देशमा प्रतिबन्ध लागिसकेको छ । तर, नेपालमा भारतबाट आयात हुने माछाको भने परीक्षणसमेत हुँदैन । मानव शवलाई धेरै दिनसम्म सड्न नदिन प्रयोग गरिने फर्मालिन माछामा पनि राख्ने गरिन्छ ।

फर्मालिनको प्रयोग हानिकारक
माछामा प्रतिकिलो शून्य दशमलव २ मिलिग्रामसम्म फर्मालिन हाल्न विज्ञले सुझाउँदै आए पनि नेपालमा बिक्री–वितरण हुने माछामा प्रतिकिलो ४ दशमलव ५ मिलिग्रामसम्म फर्मालिन प्रयोग हुने गरेको विज्ञान तथा विधि प्रयोगशालाको रिपोर्टमा उल्लेख छ । तर, विश्व स्वास्थ्य संगठनले भने खानेकुरामा फर्मालिनको प्रयोग शून्य हुनुपर्ने जनाएको छ ।

माछामा प्रयोग हुने फर्लामिनले मानव स्वस्थ्यमा गम्भीर असर पुर्‍याउनुका साथै मानिसको कोषमा समेत क्षति पुर्‍याउँछ, जसले क्यान्सरको जोखिम बढ्ने विभिन्न अध्ययनले जनाएका छन् । यसको प्रयोगले सबैभन्दा बढी आँखामा असर पुर्‍याउनुका साथै आँखा नदेख्ने सम्मको समस्या आउने चिकित्सकले बताएका छन् ।