काठमाडौं। कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको कृषि तथा खाद्य सुरक्षा आयोजनाको अनुदान रकमबाट हुन लागेको युगान्डा भ्रमण रोकिएको छ ।

मुगु, जुम्ला, डोल्पा, हुम्ला, कालिकोट, रुकुम, रोल्पा, प्यूठान, सल्यान, सुर्खेत, दैलेख , जाजरकोट, बझाङ, बाजुरा, वैतडी, डडेल्धुरा, डोटी, दार्चुला र अछाम कार्यक्षेत्र बनाएर ती क्षेत्रका जनताकाको खाद्य सुरक्षा सञ्चालनमा लागि सो आयोजना संचालन गरिएको भएपनि मन्त्रालयका कर्मचारी कार्यक्रमको पैसा दुरुपयोग गरेर विदेश भ्रमण जान लागेका थिए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको नयाँ सरकारले सरकारी रकममा कुनै पनि कर्मचारीहरुलाई विदेश भ्रमण जानबाट रोक्ने निर्णय गरेको दुई दिन लगतै कृषि विकास मन्त्रालयको टोली युगाण्डा जाँदैथियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलाई लत्याउँदै कृषि विकास मन्त्रालयको टोली विदेश भ्रमणमा जान लागेको समाचार प्रकाशण भएपछि भ्रमण रोकिएको छ ।

कृषि तथा खाद्य सुरक्षा आयोजना विश्व वैकको अनुदानमा सञ्चालित आयोजना हो । सोही आयोजनाको रकमबाट ४२ लाख खर्च गरेर आधा दर्जन भन्दा बढी व्यक्ति युगाण्डा भ्रमण जाने तम्तयारी गरेर बसेको भएपनि अन्तिम समयमा समाचार कै कारण भ्रमण रद्द गर्नु परेको कृषि विकास मन्त्रालय श्रोतले बताएको छ ।