खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइन्छ ।प्राय सबै किसिमको खुर्सानीको उत्पति मध्य अमेरिकाको मेक्सिको र ग्वाटेमालामा भएको अनुमान छ ।
हावापानी :
न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ ।

उपयुक्त जातहरू :
उन्नत जातको रूपमा पूसा ज्वाला, सूर्यमुखी, यात्सुफुसा, चन्द्रमुखी, जी–४, आदि ।
वर्णशङ्कर जातको रूपमा एनएस १७०१, एनएस १७११, कर्मा ७५७, कर्मा ७७७, आदि ।

माटो:
पिएच मान ६ देखि ६.५ र पानीको राम्रो निकास भएको दोमट माटो उपयुक्त हुन्छ ।

जग्गाको तयारी :
गोबर वा कम्पोष्ट मल राखेर जमीनलाई तीन देखि चार पटक खनजोत गरी झारपात हटाइ समथर बनाउने । बिरुवा रोप्नको लागि ६० से.मी.को फरकमा ड्याङहरू बनाउने ।

बीऊ दर :
उन्नत : प्रति रोपनी ३० ग्राम (प्रति कठ्ठा २० ग्राम)
वर्णशङ्कर : प्रति रोपनी १० ग्राम (प्रति कठ्ठा ६.६ ग्राम)
बेर्ना भएप्रति रोपनी २,०००–२,५०० बोट (प्रति कठ्ठा १,३००–१,६५० बोट)

मलखाद :

रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र बालीको जातमा भर पर्छ ।

बिरुवा रोप्ने दूरी, उमेर र सार्ने तरिका :
ड्याङमा हारको दूरी ६० से.मी. र बोटदेखि बोटको दूरी ४५ से.मी. मा रोप्ने । करिब ३० देखि ३५ दिनको बेर्ना जाडोयाममा ५–६ पाते र वर्षायाममा ७–८ पाते होचो बेर्ना सार्ने । बेर्ना सारेको ३–४ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना पुनः सार्ने ।

गोडमेल :
खुर्सानीबालीमा झारपात हटाएर माटो खुकुलो बनाइ राख्न २–३ पटक गोडमेल गरी उकेरा लगाउने । विरुवामा छापो लगाउने ।

सिंचाई र निकास :
आवश्यकता अनुसार ३ देखि ४ पटक ड्याङको आधाभाग भिज्नेगरी सिंचाई गर्ने । युरिया मल दिएपछि र गोडमेल पछि सिंचाई गर्र्ने । बिरुवाको फेदमा पानी जम्न नदिने ।

बाली संरक्षण :
मुख्यतः ओइलाउने र मोज्याक भाइरस रोग लाग्छ । ओइलाउने रोग लागेमा पुरै विरुवा ओइलाएर मर्दछ । मोज्याक भाइरस लागेका पातहरू गुज्मुजिन्छन् र बिरुवा पहेंलो हुँदै जान्छ । मोज्याक भाइरस लागेका बिरुवाहरू उखेलेर जलाउने । ओइलाउने रोगबाट बचाउनको लागि बाली चक्र अपनाउने । तर भेडे खुर्सानी, भण्टा, गोलभेडा, आलु जस्ता सोलानेसी परिवारका बिरुवाहरू भने बाली चक्रमा प्रयोग गर्नु हुँदैन ।

बाली लिने
जात अनुसार बेर्ना रोपेको करिब तीन महिनाबाट सुरु गरी आठ महिनासम्म खुर्सानी टिप्न सकिन्छ । भेट्नुमा काठ पसेको हरियो चम्किलो खुर्सानी टिप्ने ।

उत्पादन :
जात र व्यवस्थापन अनुसार प्रति रोपनी ५००–८०० के.जी. (प्रति कठ्ठा ३३०–५३० के.जी.)उत्पादन हुनसक्छ ।

खुर्सानीको बेर्ना कसरी रोप्नु पर्छ ?
जरा र पातहरु धेरै र स्वस्थ विरुवा छानेर बेलुकीपख सार्नु पर्दछ । वेर्ना सार्दा नर्सरीमा छदाँ माटोमुनी रहेको भाग जति मात्र जमिनमुनी पर्ने गरेर सार्नुपर्छ । बेर्ना सारेपछि लगातार ५ दिन सम्म हजारीले विरुवाको वरिपरि पर्ने गरी पानी दिनुपर्छ ।

खुर्सानीमा लाग्ने मुख्य किराहरु के हुन :
खुर्सानी बालीमा प्राय लाग्ने किराइहरुमा थ्रिप्स, फेद कटुवा र गवारो पर्दछ ।