काठमाडौँ । भारतीय रेलवेले समयमा र्‍याक नदिँदा पश्चिम बंगालको हल्दिया बन्दरगाहमा लामो समयदेखि नेपाल जाने ठूलो परिमाणको रासायनिक मल अड्किएको छ । तेस्रो मुलुकबाट आयात गरिएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका मल अड्किएका हुन् ।

कम्पनी र कर्पोरेसनका युरिया तथा डीएपी मल विभिन्न सप्लायरले ग्लोबल टेन्डरबाट खरिद गरी चीन तथा ओमानबाट ल्याएका हुन् ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत एकनारायण अर्यालले एक महिनाभन्दा बढी समयदेखि नेपाल जाने रासायनिक मल हल्दियामाअड्किएर बसेको जनाए । रासायनिक मल ६ देखि ७ र्‍याक रहेको उनले बताए ।

तेस्रो मुलुकबाट जहाजमा लोड गरी एकमुष्ट ल्याइने रासायनिक मल यो बन्दरगाहमा बोरामा प्याकिङ गरिन्छ । एक रेलवे र्‍याकले अधिकतम २ हजार ५ सय टन मल बोक्ने हुँदा हल्दिया बन्दरगाहमा करिब १५ हजार टन मल अड्किएको अनुमान गरिएको अर्यालले बताए ।

नेपालले हालसम्म भारतबाट प्रयोगका लागि पाएको ३ वटा बन्दरगाहमध्ये दोस्रो बन्दरगाह हल्दिया हो । कोलकाताबाट करिब १ सय २५ किमिको दूरीमा रहेको यो बन्दरगाहबाट नेपालका लागि आयात हुने रासायनिक मल जस्ता डस्टी कार्गो आउने गर्छन् ।