मकै नेपालको प्रमुख अन्नबाली हो । यो हिमाल, पहाड, तराई सबै भेगमा धेर–थोर उत्पादन हुन्छ । मकैबाट ढिंडो, रोटी, ग्रिटको भात आदि परिकार तयार गर्न सकिन्छ । स्वादिष्ट सुप बनाउनका लागि हरियो दुधे मकैको पिठो (कर्न पाउडर) अनिवार्य हुन्छ । अहिले मकैबाट खानेतेल पनि उत्पादन हुन थालेको छ । नेपालको सरदर मकैको उत्पादनक  २.२०५ प्रति हेक्टर रहेको छ । मकैबालीमा फूल फुल्ने बेलामा १० डिग्रीसेन्टिग्रेड भन्दा कम तापक्रम भएमा पराग सेचन क्रियामा कमी आइ दाना नलाग्ने समस्या देखा पर्दछ । बढी र घटी तापक्रमको असर विशेष गरी वर्णंकर जात लगाउँदा बढी देखापर्दछ । उन्नत प्रविधि र उन्नत बीऊको प्रयोगबाट खाद्यान्न बालीको उतपादन २५ प्रतिशतले बढाउन सकिन्छ । मकै तराईदेखि उच्च पहाडसम्म खेती गरिने बाली भएकाले विकसित देशहरूको तुलनामा नेपालमा मकैको औषत उत्पादन न्यून रहेको छ । मकै चमर निस्कने (फूलफुल्ने) समयमा ३५ डिग्री सेन्टिगे्रड भन्दा बढी र १० डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भयो भने परागसेचन दर घट्न र कमैको घोगामा दाना लाग्दैन ।

मकैको जातका नाम पछाडि राखिने अङ्कले के जनाउँछ:

जोडा अङ्कले मकैको दाना पहेलो जनाउछ, बिजोड अङ्कले दाना सेतो जनाँउदछ ।

मकैको श्रोत बीउ कहाँबाट प्राप्त गर्न सकिन्छ :

राष्ट्रिय बीउ बिजन कम्पनी, नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका कार्यक्रम, स्थानिय स्तरमा रहेका बीउ उत्पादक समूह या सहकारी, निजी कम्पनी र जानकारीको लागि जिल्ला कृषि बिकास कार्यलयमा सम्पर्क गर्ने ।

ध्वासे थेग्ले रोगबाट बच्ने उपाय के होला ?

अवरोधी जातहरु लगाउनेः उच्च पहाडको लागि गणेश-१, गणेश-२ र मध्य पहाडको लागि देउती, शितला, मनकामना-३

उत्तरी मकैको पात डढुवा रोगको नियन्त्रण उपाय के होला ?

मकै रोप्नु भन्दा पहिले बीउलाई थिराम नामक बिषादी ले १ किलो ग्राम बीउलाई २.५ ग्राम थिरामका दरले बिजोपचार गर्नुपर्दछ । र डाईथेन एम–४५, २ ग्राम प्रति लिटर पानीका दरले छर्नु पर्दछ ।

दक्षिणी मकैको पात डढुवा रोगको नियन्त्रण उपाय के होला ?

मकै रोप्नु भन्दा पहिले बीउलाई थिराम नामक बिषादीले १ किलो ग्राम बीउलाई २.५ ग्राम थिरामका दरले बीजोपचार गर्नुपर्दछ।

सुपर ग्रेन ब्याग भनेको के हो ?

प्लाष्टिक झोला हो जसमा १२ प्रतिशत चिस्यान भएका अनाज या बीउलाई ८ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । यसमा ६५ केजी तौलसम्म बीउ भण्डारण गर्न सकिन्छ ।

मकै भण्डारणमा घुनबाट बच्ने वानस्पतिक उपाय के छ :

बोझोको धुलो २०–२५ ग्राम प्रति केजी अनाजका दरले राख्दा घुनबाट बचाउन सकिन्छ।
झुसेतिलको तेल १–२ मि.लि.प्रति किलोग्राम अनाजका दरले उपचार गरेर थन्क्याएको अनाजमा घुन र पुतलीहरुले क्षति गर्न सक्दैनन् ।

मकैमा किर्था नियन्त्रण गर्न के गर्नुपर्छ ?

तपसिल अनुसार विषयुक्त चारा बनाई १० कि.ग्रा. प्रति हेक्टर छर्नु पर्छ ।
गहुँको चोकर–१ कि.ग्रा, क्लोरोडेन वा मालाथियन धुलो–५ ग्राम, सख्खर वा भेली–५ ग्राम र मुछ्न चाहिने जति पानी हाली छर्नुपर्दछ।

मकैको गवारो नियन्त्रण गर्न के गर्नुपर्छ ?

गवारोको आक्रमण देखिएमा सेभिन गेडा, थायोडेन गेडा, फोरेट गेडा, फ्युराडेन गेडा मध्ये कुनै एक ३–४ दाना मकै वोटको प्रत्येक गुवोमा ४/५ पातको अवस्थामा पहिलो पल्ट र २५/३० दिन पछि दोश्रो पल्ट प्रयोग गनु पर्छ।

मकै भण्डारणमा कीराको नियन्त्रण कसरी गर्ने ?

एउटा सिडबीन (१ देखि २ क्विन्टल) मा एक चक्की सेल्फस राखी हावा नछिर्ने गरि बन्द गर्नु पर्दछ।

मकैलाई भण्डारण गर्दा चिस्यान प्रतिशत कति हुनुपर्दछ ?

मकैलाई जति सक्दो बढी घाममा सुकाई भण्डारण गर्नु पर्दछ । भण्डारण गर्नको निमित्त १२ देखि १४ प्रतिशत चिस्यानमा ल्याउनु पर्दछ ।

मकै भाच्ने बेलामा चिस्यान कति हुनुपर्दछ ?

साधारणतया मकैको दानाको चिस्यान ३० प्रतिशत भन्दा कम भए पछि भाँच्नु उपयुक्त हुन्छ ।

मकै भाच्ने बेला भयो भन्ने कसरी थाहा पाउने :

मकैको दाना उप्काई खोयामा गाडीने भाग तिर कोट्याई हेरेमा कालो पत्र देखिएमा मकै पाकेको निश्चित हुन्छ ।

मकैमा गोडमेल या झारपात ब्यवस्थापन कहिले गर्ने ?

पहिलो गोडाई मकै उम्रेको ३ देखि ४ हप्ता भित्र गरिसक्नु पर्दछ । र दोस्रो गोडाइ पहिलो गोडाई गरेको ३ देखि ४ हप्ता पछि गरिन्छ । दोश्रो गोडाईमा उकेरा दिईन्छ ।

बसन्ते र हिउँदे मकैमा सिंचाईको हिसावले ख्याल गर्नुपर्ने कुरा :

बसन्ते र हिउँदे मकैका लागि रोप्ने बेलामा माटोमा चिस्यान कम भएमा सिंचाई गर्नुपर्दछ ।

सिंचाईको हिसाबमा मकैको सम्बेदनशील अवस्था कुन हो ?

जुँगा निस्कने अवस्था र दाना पोटिलो हुने अवस्था मकैको सम्बेदनशील अवस्था हो र यस्तो अवस्थामा माटोमा चिस्यान कमी देखिएमा सिंचाई दिनुपर्दछ ।

मलखादको प्रयोग कसरी गर्ने ?

डि.ए.पी. र पोटासको सम्पूर्ण भाग जमिन तयारीमा हाल्ने र यूरियाको आधा भाग बोट घुँडा घुँडा भएको अवस्थामा र आधा भाग जुँगा र चमर निस्कने बेलामा हाल्ने ।

तराई तथा भित्री मधेशमा हिउँदे मकै कहिले छर्ने ?

भदौ˗असोजमा।

तराई तथा भित्री मधेशमा बर्षे मकै कहिले छर्ने :

बैशाख˗जेठमा मकै छर्नु राम्रो हुन्छ ।

तराई तथा भित्री मधेशमा बसन्ते मकै कहिले छर्ने ?

फाल्गुण˗चैतमा मकै छर्नु राम्रो हुन्छ ।

मध्य पहाडमा मकै कहिले छर्ने ?

मध्य पहाडमा चैत˗बैशाखमा मकै छर्नु राम्रो हुन्छ ।

लेकमा मकै कहिले छर्ने ?

लेकमा फाल्गुण˗चैतमा मकै छर्नु राम्रो हुन्छ ।

मकै रोप्दा एक लहर देखि अर्को लहर र एक बोट देखि अर्को बोटको दूरी कति हुनुपर्दछ :

यसको लागी एक लहर देखि अर्को लहर ७५ से.मी. र एक बोट देखि अर्को बोटको दूरी २५ से.मी. कायम गरेमा उक्त बोट संख्या कायम गर्न सकिन्छ ।

मकै रोप्दा बोट संख्या कति हुनुपर्दछ ?

साधारणतया मकैको बोट एक रोपनीमा २५०० बोट, एक कठ्ठामा १६६६ र एक हेक्टरमा करिब ५०,००० देखि ५५,००० बोट भएमा बढी उत्पादन लिन सकिन्छ ।

मकैको बीउ दर कति हो ?

लाइनमा लगाउँदाः ६७० ग्राम प्रति कठ्ठा वा १ के.जी. प्रति रोपनी वा २० के.जी.प्रति हेक्टर
हलो पछाडि लगाउने हो भनेः १ के.जी. प्रति कठ्ठा वा १.५ के.जी. प्रति रोपनी वा ३० के.जी.प्रति हेक्टर बीउ पर्याप्त हुन्छ ।

मकै खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ :

पानी नजम्ने, मलिलो, दुमट तथा पि एच मान ७.०–७.३ भएको माटो उपयुक्त हुन्छ ।

तराईका मकैमा दाना नलाग्ने समस्याबाट बच्न के गर्नुपर्ला ?

असोज या मंसिरमा मकै छर्न सकियो भने उक्त समस्याबाट बच्न सकिन्छ ।

तराईका मकैमा किन दाना नलाग्ने समस्या आएको होला ?

मकैको धान चमरा निस्कने बेलामा बातावरणको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम र ३५ डिग्री सेल्सियस भन्दा बढी भएमा दाना नलाग्ने समस्या हुन्छ ।

उच्च पहाडको लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ?

गणेश १, गणेश २ जस्ता जातहरु उच्च पहाडका लागि उपयुक्त हुन्छ ।

मध्य पहाडको लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ?

खुमल पहेलो, मनकामना १, मनकामना ३, देउती, शीतला, मनकामना ४, पोषिलो मकै १, मनकामना ५, मनकामना ६ ।

तराई तथा भित्री मधेशका लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् :

रामपुर कम्पोजिट, अरुण २, रामपुर २, अरुण १ जस्ता जातहरु तराई तथा भित्री मधेशका लागि उपयुक्त छन् ।