इलाम। अर्थोडक्स चियाको उत्पादन, प्रशोधन र बजारीकरणका लागि उन्नति समावेशी वृद्धि कार्यक्रमले इलाममा ३२ करोड रूपैयाँभन्दा बढी सहयोग गरेको छ ।

कृषि उत्पादनमा मूूल्य श्रृंखलाको विकासमार्फत बजार पहुुँच तथा मूल्य अभिवृद्धि गरी चिया सरोकारवालाहरूको आयस्तर उकास्न डेनमार्क सरकारको सहयोगमा प्रदेश नम्बर १ का सातवटा पहाडी जिल्लामा उन्नति कार्यक्रम सञ्चालन भइरहेको छ । कृषि विकास मन्त्रालयसँगको सहकार्यमा मेचीका इलाम, ताप्लेजुङ र पाँचथर तथा कोशीका धनकुटा, तेहथुम, सङ्खुवासभा र भोजपुरमा सञ्चालित यो कार्यक्रमले अदुवा, अलैँची र डेरी सँगसँगै अर्गानिक चियालाई पनि प्राथमिकता क्रममा लगानी गरेको हो ।

यी चार उत्पादनमा इलामका लागि कुल ४६ करोड रूपैयाँ सहयोगमध्ये अर्गानिक चियालाई प्राथमिकतामा राख्दै जम्मा ६६ प्रतिशत अनुदान उपलब्ध गराएको कार्यक्रमका सामाजिक आर्थिक विज्ञ केशवप्रसाद सिलवालले जानकारी दिए । उनले कार्यक्रममार्फतका सबै क्रियाकलाप आगामी जुन ३० तारिखमा सम्पत्र भइसक्ने बताए । उन्नतिले जिल्लाका ५६ वटा सरोकारवाला चिया उत्पादक किसान, सहकारी र उद्योगमा लगानी गरेको छ । जसअन्तर्गत सबैभन्दा बढी सूर्योदय नगरपालिकामा २४ वटा सरोकारवाला संस्थामा लगानी गरेको छ ।

यसअन्तर्गत पूर्वाधार निर्माणमा पनि ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन भएको छ । यसमा अर्थोडक्स चिया कारखाना स्तरोत्रति, संकलन केन्द्र निर्माण, गड्यौले मल उत्पादन केन्द्र निर्माण र गोठ सुधारका कार्यक्रम सञ्चालनमा छन् । यस्तै मेसिनरी औजारमा पनि कार्यक्रमले ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ । चिया कारखानामा आवश्यक सबै खालका उपकरण, हिटर, ड्रायर, सर्टिङ मेसिन औजार र गाडी खरिदमा अनुदान उपलब्ध भएको बताइएको छ ।

यस्तै, ९० प्रतिशत अनुदान सफ्टवेयर क्षेत्रमा दिइएको छ । चिया कल्टिभेसन टेक्नोलोजी, मल उत्पादन प्रविधि, अर्गानिक सर्टिफिकेसन, रेन फरेस्ट एलायन्समा पनि यसअन्तर्गत कामहरू भएको सिलवालले बताए ।

चिया उत्पादनमा भएको लगानीले जिल्लाका सात हजार आठ सय जनालाई प्रत्यक्ष लाभ हुने सिलवालको दाबी छ । उनले यसबाट अर्गानिक चियाको उत्पादन बढ्ने र गुणस्तरमा सुधार आउने अपेक्षा रहेको पनि उनले बताए । अर्गानिक चिया गुणस्तरीय भएमा अन्तर्राष्ट्रिय क्षेत्रमा माग बढ्ने र मूल्य पनि वृद्धि हुँदा सरोकारवालाहरूले फाइदा लिने सिलवालको भनाइ छ ।

चिया बजारको क्षेत्रमा इलाम चिया कारखाना र स्मल टी एसोसिएशनलाई ब्लेन्डिङ हाउस निर्माणमा तीन–तीन करोड रूपैयाँ उपलब्ध गराइएको छ । अर्गानिक चियाको प्रमाणीकरणमा समेत कार्यक्रममार्फत सहयोग भएकाले आगामी दिनमा चियाको बजार सहज हँुदै जाने विश्वास सिलवालको छ । यता उद्यमी तथा किसानहरूले चिया उत्पादनमा अनुदान उपलब्ध भए पनि प्रक्रिया अलिक झञ्झटिलो भएको बताएका छन् । उनीहरूले उद्योग स्थापना र अन्य क्षेत्रमा ५० प्रतिशत रकम आफैँ निकाल्न नसकिने र प्रविधि सहज नहुँदा सोचअनुसार काम नभएको बताए ।