काठमाडौ। सरकारले कुखुरा तथा गाईभैंसी दानमा मात्रै गुणस्तर तोकेकोे भएपनि अब अन्य पशुपक्षीको दानामा पनि गुणस्तर निर्धारण गर्ने भएको छ । पशु सेवा विभागका महानिर्देशक विमलकुमार निर्मलको अध्यक्षतामा बसेका दानास्तर निर्धारण समितिको बैठकले अन्य पशुपक्षीको दानामा पनि गुणस्तर तोक्ने निर्णय गरेको हो ।

कृषकले अन्य पशुपक्षी पनि व्यावसायिक रूपमा पाल्न थालेपछि बंगुर, बाख्रा, कुकुर, खरायो, टर्की, अस्ट्रिच, माछा र हाँसको दानामा पनि गुणस्तर मापदण्ड तोक्न लागेको हो । यसका लागि छुट्टै कमिटी गठन भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । दाना पदार्थको नियमक तथा प्राविधिक निकाय खाद्य प्रविधि हो ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले व्यावसायिक रूपमा माछा, बंगुर, अस्ट्रिचलगायत पनि पाल्न थालेकाले दानाको मापदण्ड निर्धारण गर्न लागेको बताउनु भएको छ । विभागका अनुसार दानाको गुणस्तरको लागि दाना पदार्थ ऐन र विनियमावली बनेको छ । ऐन र विनियमावलीले सबै नसमेटेको समितिको ठहर छ ।

पशुपक्षीको दाना पदार्थको गुणस्तर मापदण्ड मस्यौदा तयार गर्न विभागका उपमहानिर्देशक डा.मतिना जोशी वैद्यको संयोजकत्वमा ८ सदस्य उपसमिति गठन गर्ने निर्णय भएको छ । उपसमितिले उक्त मस्यौदा समितिको अब बस्ने बैठकमा पेस गर्ने जनाएको छ । समितिको बैठक १५ दिन प्रश्चात बस्ने विभागले जनाएको छ ।

हाल दाना पदार्थ ऐन ४० जिल्लामा मात्रै लागू भएको छ । दाना पदार्थको उत्पादन तथा बिक्री वितरण मुलुकभरि नै भएकाले ऐनको दफा १ को उप दफा ३ बमोजिम मुलुकभरि (सबै प्रदेश तथा स्थानीय तहमा) लागू गर्ने निर्णय गरिएको छ ।