इलाम। सरकारले गत बर्षदेखि सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले इलाममा निरन्तरता नपाउँदा किसान समस्यामा परेका छन्।

सरकारले निसर्त स्थानीय तहमा परियोजना सञ्चालनका लागि बजेट पठाए पनि स्थानीय तहले कार्यक्रम सञ्चालन गर्न चासो नदेखाएपछि दुई वटा पुराना ब्लक कार्यक्रम र नयाँ कार्यक्रमहरु सञ्चालन हुन सकेको छैंन् ।

जिल्ला कृषि विकास कार्यालय इलामले गत बर्ष इलामको देउमाई नगरपालिका र सूर्योदय नगरपालिकाको चार हजार रोपनी क्षेत्रमा परियोजनाअन्तर्गतको ब्लक सञ्चालन गरेको थियो ।

देउमाई नगरपालिकामा अलैंची खेतीको ब्लक कार्यक्रम सञ्चालन भएको थियो । स्थानीय तहले सो शीर्षकमा बजेट विनियोजन गरेपनि काम सुरु हुन सकेको छैन् । नगरपालिकाका कृषि अधिकारीले ब्लकमा यस बर्ष थप कार्यक्रम सञ्चालन गर्न पहल गरिरहेको बताए । उनले भने,‘अब सम्झौता गरेर काम गर्ने प्रयासमा छौं ।’

किसानहरु भने नगरपालिकाले कृषिको बजेट कृषिमै छुट्याउन रुची नदेखाएकाले काम अघि बढ्न नसकेको बताउंछन् ।

देउमाई नगरपालिकामा गत बर्ष खेती, सिँचाई र ढुवानीका सामाग्रीमा किसानले बजेट खर्च गरेको जिल्ला कृषि विकास कार्यालय इलामका वरिष्ठ अधिकृत रामसोगारथ साहले जानकारी दिए ।

सूर्योदय नगरपालिकाको वडा नं। १२ मा सञ्चालन भएको तरकारी ब्लकले भने निरन्तरता नपाउने पक्का भएको छ । नगरपालिकाको आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले केन्द्रिय सरकारले कृषि र पशुपन्छीको बजेट नै नपठाएकाले ब्लकलाई निरन्तरता दिन नसकिएको बताए ।

उनले भने,‘मन्त्रालयसम्म पहल गरिरहेका छौं, नयाँ सरकार आएपछि हुन्छ कि ।’ मन्त्रालयले रकम नपठाएको भन्दै नगरपालिकाले करिब आठ लाखको टुक्रे कार्यक्रमबाहेक अरु काम गरेको छैंन् ।

ब्लकका अध्यक्ष मदन राईका अनुसार बजेट नआएपछि सबै कार्यक्रम अधुरो भएको छ । गत बर्ष सरकारको ६० लाखसहितको ९० लाखको योजना सञ्चालन गरेको किसानका कतिपय काम अधुरै रहेको राईले बताए । गत बर्ष दुई वटा पिकअप गाडी, सिंचाई, मिनिटिलर, एक लाख पानी अटाउने ट्यांकी, ६० वटा टनेल निर्माणसहितको काम गरेका किसानले यो बर्ष दिगो कृषिलाई सहयोग गर्ने अन्य काम गर्ने योजना बनाएको अध्यक्ष राईले बताए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार गत बर्ष दुई वटा ब्लकसहित २५ पकेट सञ्चालन गरिएको थियो । इलाम नगरपालिकासहितका सबै स्थानीय तहका लागि कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गर्न बजेट आएको कार्यालयले जनाएको छ ।