कञ्चनपुर। खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका किसानले गहुँखेती गर्दैआएका छन् । थोरै लागतमा बढी प्रतिफल हासिल हुने भएपछि यहाँका किसान जिरो टिलेज प्रविधितर्फ आकर्षित भएका हुन् ।

कृषि शाखा बेलौरीको प्राविधिक तथा आर्थिक सहयोगमा बेलौरी– २, ६, ७ र ८ का किसानले १० बिघाभन्दा बढी जग्गामा जिरो टिलेज प्रविधि अपनाएर गहुँखेती गरेका छन् । धान काटेको खेतमै खनजोत नगरिकनै सिड ड्रिल मेसिनको सहायताले एकै लाइनमा गहुँको बीउ र मल राखेर खेती गर्दा बढी प्रतिफल हासिल हुने भएकाले किसान सो प्रविधितर्फ आकर्षित भएका हुन् ।

गत वर्ष नमूनाका रुपमा बेलौरी– ६ रिछाहाका खड्क चौधरीले सो प्रविधिबाट गहुँखेती गरेका थिए । परम्परागत छरुवा विधिको तुलनामा लागत खर्च निकै कम आउने, सिँचाइ गर्दा पानी कम लाग्ने र उत्पादन तेब्बर भएपछि अन्य किसानले समेत कृषि शाखाको सल्लाहमा जिरो टिलेज प्रविधिबाट गहुँखेती गरेका छन् ।

परम्परागत खेती प्रविधिमा आधारित भई खेती गर्दा जनशक्ति साथै खर्च पनि बढी लाग्ने गर्दछ भने यो जिरो टिलेज प्रविधिबाट खेती गर्दा सून्य खनजोतमै तेब्बर खेती उत्पादन हुने गरेको स्थानीय किसाानको भनाई छ । यो प्रविधिबाट खेती गर्दा पानी समेत थोरै भए पुग्छ ।

हिउँदमा बढी चिस्यान हुँदा बाँझो रहने खेतको सदुपयोग गर्दै यस प्रविधिबाट गहुँखेती गरी बढी प्रतिफल हासिल गर्न सकिने कृषि शाखा बेलौरीका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । झारपात र रोग कीराको प्रकोपसमेत बढी नहुने भएकाले सो प्रविधि किसानमाझ लोकप्रिय हुँदै गएको उहाँको भनाइ छ ।

अत्याधुनिक कृषि यन्त्रको सहायताले गरिने यस खेती प्रणालीलाई नगरपालिकाका अन्य वडामा समेत विस्तार गर्नका लागि आगामी वर्षका लागि कृषि शाखाले योजना बनाएको छ । कार्यालयले जिरो टिलेज प्रविधिमा गहुँखेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ र मल सहयोग उपलब्ध गराएको छ ।