काठमाडौं। शुक्रबारदेखि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मोबाइलमार्फत चियाको तथ्याङ्क संकलन गर्ने भएको छ । बोर्ड र केन्द्रीय तथ्याङ्क विभागको सहकार्य तथा उन्नती परियोजनाको सहयोगमा नेपालभर सञ्चालनमा रहेका चिया बगान र चिया कारखानाहरुको गणना गरी ‘एमआईएस डाटावेस’ निर्माण गर्ने बोर्डले तयारी गरेको हो ।

गणनामा एक रोपनीभन्दा बढी चिया रोपण गरेका सबै चिया कृषक, चिया बगान र चिया कारखाना सञ्चालकहरुको चिया उत्पादन, रोपण, रोजगार संख्या तथा सो सम्बन्धीत तथ्याङ्कहरु घरदैलोमै गएर गणकहरुले मोबाइलमार्फत संकलन गर्नेछ ।

गणकहरुले चिया उत्पादक कृषकका घरदैलोमा मोबाइल बोकेर जाने र गणनालाई कागजरहित पेपरलेस बनाउन एण्ड्रोइड एपको सहायताले मोबाईलबाट तथ्यांक संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत मुलुकका सबै चिया उत्पादनलाई गणनाले समेट्ने बोर्डका योजना अधिकृत गौरब लुइटेलले बताए ।उनका अनुसार संकलित चिया विवरणहरु कानुन अनुसार गोप्य रहने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र उपयोग गरिनेछ ।
त्यस्तै यथार्थ तथ्याङ्क उपलब्ध गराईदिन विभागले सबै चिया कृषक, चिया बगान र कारखाना सञ्चालकहरूलाई बोर्डले अपिल गरेको छ ।