हेटौडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँंडास्थित राप्ती खोला पुलको मुखमै छ सुदामा पुडाशैनीको ढिंँडो पसल छ । राप्ती किनारको सिमलटार गाउँमा उहाँले ढिंँडो बेच्न थालेको झण्डै ६ वर्षभयो ।

अहिले उहाँको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सँधै एप्रोन प्रयोग गर्ने पुडाशैनी हट्टाकट्टा हुनुहुन्छ । श्रीमती सविना र दुईजना सहयोगी दिनभर सुदामासँगै खटिन्छन् । उहाँकोमा ढिँडो खानेको लाइन नै लाग्छ ।

स्थानीय खोलाका माछा, स्वादिष्ट गोलभेँंडाको अचार, भटमासको अचार र सागसँग तात्तातो ढिँडो चोपेर खान मकवानपुरका मात्रै होइन अन्य जिल्लाका ढिँडो पारखीसमेत यहाँ पुग्ने गरेका छन् । रु एक सय ५० मा माछा र ढिँडोको स्वाद थपिथपि खान पाइन्छ ।

“सिडियोदेखि मन्त्री, सांसद, कलाकारलगायत ढिंँडो खान आउनुहुन्छ,” पुडाशैनीले भन्नुभयो । चैत २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चायत’को निर्माण समूह मंगलबार यहाँ ढिँडोको स्वादमा रमायो । सुदामाको मकवानपुरे ढिँडो एउटा ब्राण्ड जस्तै बनेको छ ।

हेटौँडा उपमहानगरपालिका–१ राप्ती खोलाको किनारमै छ ढिंँडो पसल । ऐलानी एक कठ्ठा जग्गामा ६ वर्षदेखि पुडाशैनीले ढिँडो बनाएर बेच्दै आउनुभएको छ । उहाँले गाडी चलाउन छाडेर ढिंँडो बेच्न थाल्नुभएको हो । साउदी गएर दुई वर्ष गाडी चलाएको पनि उहाँसँग अनुभव छ । “परिवासँग बसेर पेशा गर्न पाइएको छ, आम्दानी पनि राम्रै छ,” उहाँले भन्नुभयो ।

पुडाशैनीले मासिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्नुहुन्छ । पहिला रु ५५ मा ढिँडो बिक्थ्यो । त्यो बेला माछा प्रतिकिलो रु १८० मा पाइन्थ्यो । अहिले त्यही माछा प्रतिकिलो रु ६०० मा पाइन्छ । “पहिले गाउँमा ढिंँडो खाने चलन थियो, अहिले त्यो चलन घट्दै गएको छ, अहिले शहरमा ढिँडोमा आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।