कपिलवस्तु। कपिलवस्तुको वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यवसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँघरमा ‘मास्टर’को परिचय बनाएका उनले अब भने व्यावसायिक मौरीपालक किसानको परिचय बनाउन थालेका हुन् ।

उमेरले ४५ वर्ष काटेका उनले डेढ दशकदेखि व्यवसायिक मौरीपालन पेशा अंगाल्दै आएका हुन् । २० घार मौरीबाट व्यवसाय सुरु गरेका उनले अहिले बढाएर एक सय घार पुराएका छन् । आफ्नै घर वरिपरिको साँत रोपनी क्षेत्रफलमा व्यवसाय गरेका पोख्रेलले केही महिनापछि एक हजार घार मौरी पाल्ने योजना भएको सुनाए ।

एक सय घार मौरीबाट उनले वार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आएका छन् । मौरीको मह, मैन र गोला गरी वार्षिक ३० लाख सम्म आम्दानी हुने गरेको पोख्रेल बताउँछन् । अहिले प्रतिकिलोग्राम महको मूल्य रु.८०० छ । त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रति खाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् ।

वार्षिकरुपमा १०० देखि २५० वटासम्म बिक्री गर्ने गरेको उनले जानकारी दिए ।सबै खर्च कटाएर कम्तीमा पनि वार्षिक १५ लाख चोखो बचत हुने उनको भनाई छ । उनले उत्पादन गरेको मह पाँच नम्बर प्रदेशका सवै जिल्लाका साथै काठमाडौँमा समेत जाने गरेको छ । मौरी पालनका लागि उनले अहिलेसम्म रु।४० लाख लगानी लगाईसकेका छन् ।

अर्थशास्त्र र समाजशास्त्र विषयबाट डबल डिग्री गरेका पोख्रेलले काममा सानो ठूलो केही नहुने बताउँछन् । उनले भने,–‘मैले दुई विषयमा डिग्री गरेको छु, एक दशक अध्यापन पेशा अंगालेको छु, ’तर मौरीमै भविष्य देखेर मौरीपालन व्यवसाय थालेको हुँ ।’ पेशा सानो ठुलो भन्दा पनि मिहिनेत ठुलो कुरो हो पोख्रलले भने ।

श्रीमान् श्रीमती मिलेर मौरी पालन व्यवसाय सुरु गरेका पोख्रेलले आफूबाहेक अन्य पाँचजनालाई समेत रोजगारी दिएका छन् ।
उनले मौरीको मह बेच्ने ’अर्जुन बेस्ट हनी’ नामको आप्mनै पसल पनि सञ्चालन गर्दै आएका छन् । पसलबाट पनि राम्रै कारोबार हुनेगरेको उनको भनाई छ । ’आफूले उत्पादन गरेको मह मात्र नभइ अन्य किसानले उत्पादन गरेको मह खरिद गरी ग्राहकलाई बेच्ने गरेको छु, उनले भने, ‘त्यसबाट पनि राम्रो कमाइ भइरहेको छ ।‘पढेलेखेकाबाटै सुरुवात गर्नुपर्ने देखेर मौरी पालन व्यवसाय थालेको हुँ’व्यवसायबाट आफूसँगै अरुलाई पनि रोजगारी दिन सकिने उनको तर्क छ ।

नेपाल मौरी पालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष समेत रहेका पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा आफु लागेको बताउँछन् । अझैं पनि राज्यले ६० प्रतिशत मह विदेशबाट निर्यात गर्दै आएको उनको दाबी छ ।

उनले प्रत्येक तीन–तीन महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको पोख्रेल बताउँछन् । एकपटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उनको भनाई छ ।