दोलखा । दोलखामा चालू आर्थिक वर्षमा करीब ३ करोड रुपैयाँबराबरको किवी फल उत्पादन भएको छ । लामो समयदेखि व्यावसायिक किवी खेती गरिरहेकासँग जिल्ला कृषि विकास कार्यालय दोलखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा २ करोड ८२ लाख रुपैयाँबराबरको ९४ मेट्रिकटन किवी फल उत्पादन भएको छ । किवी खेतीतर्फ किसानको आकर्षण बढेकाले आगामी वर्ष उत्पादन दोब्बर हुने जिल्ला कृषि विकास कार्यालय दोलखाका प्रमुख नारायणकुमार श्रेष्ठले बताए ।

गत आर्थिक वर्षमा ७८ मेट्रिक टन उत्पादन भएकोमा चालू आर्थिक वर्षमा १६ मेट्रिक टनले बढेर ९४ मेट्रिक टन उत्पादन हुन पुगेको हो । जिल्लामा प्रधानमन्त्री कृषि ब्लक तथा पकेट क्षेत्र कार्यक्रममार्फत, हिमाली आयोजना, बागवानी तथा व्यक्तिगत रूपमा समेत किसानले किवी खेती गरिरहेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

दोलखा जिल्लाका अगुवा किवी कृषक श्याम खड्काका अनुसार अहिले दोलखामा ५ सयभन्दा बढी फर्म तथा व्यक्ति किवी खेतीमा सक्रिय छन् । उत्पादनमध्ये आधा जिल्लामै खपत हुने र काठमाडौंका होटलमा उच्च माग रहेकाले बजारको समस्या नरहेको किवी फल उत्पादक सङ्घ दोलखाका अध्यक्ष श्याम खड्काको भनाइ रहेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, विगु गाउँपालिका, मेलुङ गाउँपालिकालगायत स्थानमा व्यावसायिक किवी खेती भइरहेको छ । किवी पोषणयुक्त फल मानिन्छ । कार्यालयका अनुसार हाल दोलखामा हेवार्ड, एलिसन, मण्टी, ब्रुण, रेड, एबोड, गोल्डेन, मिनी किवी गरी ८ प्रकारका किवीफलकोे खेती हुँदै आएको छ ।

अहिले दोलखामा ५ सयभन्दा बढी फर्म तथा व्यक्ति किवी खेतीमा सक्रिय रहेकोले किवीफलको मूल्य प्रतिकेजी ३ सयदेखि ४ सय रुपैयाँसम्ममा विक्री भइरहेको छ ।

उत्पादनमध्ये आधा जिल्लामै खपत हुने र काठमाडौंका होटलमा उच्च माग रहेकाले बजारको समस्या नरहेको किवी फल उत्पादक सङ्घ दोलखाका अध्यक्ष श्याम खड्काको भनाइ रहेको छ ।