बुटवल। कृषि सामग्रीमा मनोमानी रूपमा मूल्यवृद्धि भएको भन्दै रूपन्देहीका किसान विरोधमा उत्रिएका छन् । बीउ, मल, कीटनाशक औषधि, दाना, जोत्ने ट्र्याक्टर, थ्रेसरलगायत सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको किसानको भनाइ छ । महंगो प्रविधि र मल बीउको प्रयोग गरी उत्पादन गर्न नसकिने भन्दै किसानले सरकारलाई मूल्य घटाउन आग्रह गरेका छन् ।

‘महिनैपिच्छे कृषि सामग्रीको मूल्यवृद्धि भइरहेको छ । सरकार किसानको समस्याप्रति गम्भिर भएन’, किसान दुर्गा खनालले भने । खेतमा रोपिने बिउदेखि बाली काट्ने मेसिनको भाडासम्मको मूल्य आकाशिएपछि सडकमा आउनु परेको उनले बताए ।

पछिल्लो साता माात्रै कुखुराको दानामा प्रतिकिलो दुई रुपैयाँसम्म वृद्धि भएको किसानहरूले बताएका छन् । कुखुराको औषधिको मनोमानी मूल्य लिने गरेका छन् । गाईभैंसी, बाख्रालाई खुवाइने औषधिको मूल्यसमेत पसलैपिच्छे फरक हुने गरेको छ ।

मूल्यवृद्धिको विरोधमा शनिबार रूपन्देहीको सैनामैनाका किसाान पहिलो पटक सडकमा उत्रिएका हुन् । उनीहरूले कृषिप्रधान देशको प्रचार गर्ने सरकारले किसानको हितमा काम गर्न नसकेको आरोप लगाए ।

किसानहरूले शनिबार दिउँसो पूर्वपश्चिम राजमार्गको कलौनीचोकदेखि सैनामैना नगरपालिका कार्यालय बुद्धनगरसम्म प्लेकार्ड बोकेर मूल्यवृद्धिको विरोध गरेका थिए । राष्ट्रिय आयको ठूलो हिस्सा कृषिबाट प्राप्त हुने गरेको बताउँदै उनीहरूले उद्योगलाई आावश्यक कच्चापदार्थ पनि कृषिबाट उपलब्ध हुँदा किसानको मागको सुनुवाई हुन नसकेकोे जिकिर गरे ।

‘किसानले उत्पादन गर्छन्, उनीहरूलाई राहत दिनुपर्छ भन्ने सोच सरकारले कहिल्यै बनाएन’, किसान धर्मराम खत्रीले भने । किसानले कृषिजन्य बस्तु उत्पादन गरे पनि उचित भण्डारणको व्यवस्थान नहुँदा केही हुने नाफा पनि बिचौलियाले खाइदिने गरेको उनको गुनासो छ ।

पशुपन्छी, गाई, भैंसी, बंगुर, बाख्रा, कुखुराजस्ता पालनमा लागेका कृषकको दाना तथा बस्तुभाउ चल्ला खरिद गर्दा अत्यन्तै महंगो पर्ने र उत्पादनको उचित बजार व्यवस्थपान हुन नसक्दा किसान मारमा परेको अर्का कृषक प्रेमप्रकाश पन्थीले जानकारी दिए । कृषकहरूले उचित मूल्य पाउन नसकेको बताउँदै कालोबजारी गर्ने व्यापारीका कारण सर्वसाधारण उपभोक्ताले चर्काे मूल्य तिर्न बाध्य रहेको अर्का किसान जमानसिंह थापाको भनाइ छ । ‘उत्पादित खाद्यान्नको कुटानी–पिसानी गर्ने मिलले अघोषित एकाधिकार जमाई स्वेच्छाचारी गरेका छन्, यसको अनुगमन कस्ले गर्ने ? ’ उनको प्रश्न छ ।

पर्याप्त सिँचाइको सुविधा, मल बिउ सुलभ ढंगले नपाइनुले किसान विस्थापित हुनु परेको गुनासो किसानको छ । किसानको माग समयमै सम्बोधन गर्न नसके जमिन बाँझो रहने उनीहरूले चेतावनी दिए । किसान आन्दोलनको अगुवाई गाउँ सुधार तथा कृषक हकहित संरक्षण मञ्चले गरेको थियो ।