काठमाडौं ।  बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउ अभाव हुने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता बीउ उत्पादक समूह र किसानलाई लगाउन भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताए ।

दोस्रो वा तेस्रो पुस्ताको बीउ नै किसानले लगाउने गरेको उनी बताउन्छन् । उनी भन्छन्, ‘बीउको चक्र पूरा नगर्दा उत्पादनमा असर नगरेपनि किसानलाई बीउ अभाव हुन्छ ।’

नार्कले तन्तु प्रजनन विधिबाट उत्पादन गरेको पहिलो पुस्ता (प्रजनन) बीउ जिल्ला कृषि विकास कार्यालय र बीउ उत्पादक समूह हुँदै किसानसम्म पुग्छ । बीउ उत्पादक समूहले दोस्रो र तेस्रो बीउ लगाएर चौथो बीउ किसानलाई दिनुपर्छ ।

समूहले चक्र पूरा नगरी दिने र किसानले पनि रोप्ने गरेका छन् । चक्र पूरा हुन नपाउँदा किसानलाई आलुको बीउ अभाव हुने र किसानले गुणस्तर नभएको बीउ रोप्ने गरेका छन् । उनी भन्छन्, ‘राम्रो बीउ नपाएपछि किसानले टुसा आएको देखेपछि जस्तोलाई पनि बीउ मानेर रोप्छन्, गुणस्तरीय बीउ नहुँदा त्यसबाट किसानले पर्याप्त आम्दानी लिन सक्दैनन् ।’

नार्कले बर्सेनि पाँच सय दाना प्रजनन बीउ उत्पादन गर्छ । पाँच सय दानाबाट सामान्यतया दोस्रो पुस्तामा ७५ किलो, तेस्रो पुस्तामा ७५० किलो हुँदै चौथो पुस्तामा सात हजार ५ सय बीउ उत्पादन हुन्छ । एउटा दाना आलुको बीउबाट १०ओटा फल्ने अनुमान गरेर देशभरका किसानलाई पुग्ने गरी नार्कले आलुको बीउ उत्पादन गर्दैआएको छ ।