
दाङ। मौरीपालनका लागि उपयुक्त जिल्ला मानिएको दाङमा पछिल्लोे समय मह उत्पादन वृद्धि भए पनि बजार नपाउँदा सस्तोमै बेच्न मौरीपालक किसान बाध्य भइरहेका छन् । जिल्लामा वार्षिक तीन सय मेट्रिक टन मह उत्पादन हुने गरेको छ । तर, सबै उत्पादित मह दाङमै खपत हुदैन । जसका कारण किसानहरूले सस्तोमा मह निर्यात गर्न बाध्य छन् ।
जिल्लामा खपत नभए पनि यहाँको मह नेपालकै ठूला शहर र विदेशसमेत निर्यात हुने गरेको छ । दाङमा उत्पादन भएका मह खपत नहुँदा सस्तोमा मह बिक्री गर्नुपर्ने मौरी पालक कृषकहरूको बाध्यता छ । महको महत्व र फाईदाको वारेमा जानकारी नहुँदा महको खपत नहुने गरेको जिल्ला मौरी पालक महासंघका अध्यक्ष विष्णुराज श्रेष्ठ बताउँछन् । उनका अनुसार महासंघका उत्पादन हुने महको २० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ भने ८० प्रतिशत मह सस्तोमै बाहिरी जिल्ला र विदेशमा जाने गरेको छ ।
अहिले जिल्लामा प्रशोधित मह प्रतिकेजी ४ सय रुपैयाँ र प्रशोधन नगरिएको मह ३ सय रुपैयाँमा बिक्री हुने गरेको कृषकहरू बताउँछन् । पहिले–पहिले किसानले प्रशोधन नगरिएको मह सस्तोमा बिक्री गरेको भए पनि पछिल्लो समयमा जिल्लामै प्रशोधन केन्द्र खुलेपछि किसानलाई सजिलो भएको छ । ‘जिल्लामा मह उत्पादन भए पनि मह खानेहरूको संख्या भने कम रहेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘उत्पादन भएको मह जिल्लामा खपत नभएपछि बाहिरी जिल्लामा पठाइने गरेको छ ।’उनका अनुसार महासंघका उत्पादन हुने महको २० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ भने ८० प्रतिशत मह सस्तोमै बाहिरी जिल्ला र विदेशमा जाने गरेको छ ।
जिल्लाबाट मह काठमाडांै र पोखराजस्ता ठूला शहरहरूदेखि विदेशसम्म जाने गरेको श्रेष्ठको भनाई रहेको छ । ‘जिल्लामा खपत नभए पनि बजारको समस्या छैन,’ श्रेष्ठले भने, ‘बाहिर जिल्लामा पठाउँदा केही सस्तो मूल्यमा पठाउनुपर्ने हुन्छ, त्यसबाट किसानलाई थोरै घाटा हुने भए पनि लगानी डुब्ने अवस्था भने छैन,’ उनले भने ।
दाङमा उत्पादन भएको चिउरीको मह राम्रो भएकाले विदेशमा समेत पुग्ने गरेको छ । बहुउपयोगी मह र यसका धेरै गुणहरूको आधारमा महलाई अमृत पनि भन्ने गरिन्छ । विविधताले धनी देश नेपालमा पाइने विविध वनस्पतिहरूमा महत्वपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएकोले विश्वमा नेपाली महको बजार राम्रो रहेको छ ।
दाङ जिल्लाभर अहिले ६ सय जना कृषकहरूले मौरीपालन व्यवसाय गर्दै आएको मौरी पालन महासंघ दाङले जनाएको छ । जिल्लामा हाल करिव १० हजार मौरीको गोला रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । मौरी पालनका लागि उपयुक्त हुँदा पनि यसको सदुपयोग हुन सकेको छैन । विगतमा चितवन जिल्लाका कृषकहरूले मौरी चराउन ल्याउने र लाखौं मूल्यको मह लैजाने गरेका थिए तर अहिले आएर जिल्ला मौरी पालक महासंघले बाहिर जिल्लाबाट चराउनका लागि मौरी ल्याउन प्रतिबन्ध लगाएको छ ।
दाङमा मौरी पालनका लागि आवश्यक हावापानी, चरीचरणसमेत राम्रो भएकोकाले मौरी कृषकहरू बढ्नुका साथै मह उत्पादनमा वृद्धि भएको छ । तर पछिल्लो समय भैरहेको जग्गा प्लटिङले गर्दा तोरी खेती हुने क्षेत्र मासिँदै गएको र जंगलमा रहेका चिउरीका रुखहरू पनि घट्दै जाँदा समस्या हुन थालेको मौरी पालक महासंघले जनाएको छ ।